गुराँसमा पहिलोपटक क्रिकेट प्रतियोगिता, पञ्चकोशी युवा क्लब बन्यो च्याम्पियन


सुर्खेत । दैलेखको गुराँस गाउँपालिकामा पहिलोपटक पालिकास्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका–८, पोखराचौरस्थित निर्माणाधीन रङ्गशालामा आयोजित प्रतियोगितामा पञ्चकोशी युवा क्लब, गुराँस–१ ले उपाधि जितेको छ ।
गुराँस गाउँपालिका स्थानीय खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रथम गुराँस खेलकुद महोत्सव–२०८३ अन्तर्गत तेस्रो इभेन्टका रूपमा पालिकास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । गुराँसमा पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना भएसँगै स्थानीयस्तरमा क्रिकेट खेलको विकास र विस्तारका लागि नयाँ सुरुवात भएको आयोजकले जनाएको छ ।


प्रतियोगिताको समापन सत्रलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष दिपेन्द्र ओलीले खेलकुद क्षेत्रको विकास र स्थानीय खेलाडीको क्षमता अभिवृद्धि तथा प्रोत्साहनका लागि गाउँपालिका गम्भीरतापूर्वक अघि बढिरहेको बताए । उनले खेलकुदले युवाको प्रतिभा प्रस्फुटन गर्नुका साथै अनुशासन, आपसी सद्भाव र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । अध्यक्ष ओलीले पोखराचौरमा निर्माणाधीन प्रस्तावित रङ्गशालालाई यथाशीघ्र पूर्णता दिन गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे । उनले आवश्यक पूर्वाधारको विकाससँगै यस क्षेत्रलाई खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको जनाए । अध्यक्ष ओलीले प्रतियोगिताका विजेता तथा उपविजेता टोलीसँगै तृतीय स्थान हासिल गर्ने टोली र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले उदयीमान खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच/प्लेयर) लाई समेत बधाई दिँदै आगामी दिनमा खेलकुद क्षेत्रमा अझ राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।


प्रतियोगितामा पञ्चकोशी युवा क्लब, गुराँस–१ प्रथम हुँदै उपाधि हात पार्न सफल भयो भने माउन्ट एभरेष्ट युवा क्लब, गुराँस–८ उपविजेता बनेको छ । पञ्चकोशीले उपाधीसहित ३० हजार नगद पुरस्कार पाएको छ भने उपविजेता माउन्ट एभरेष्टले १८ हजार प्राप्त गरेको छ । त्यस्तै, शिवशक्ति युवा क्लब, गुराँस–८ तृतीय स्थान हासिल गर्न सफल भएको छ । तीन दिन (कार्तिक २२ देखि २४ गतेसम्म) सञ्चालन भएको प्रतियोगितामा १४ वटा टीम सहभागि थिए ।
गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी र उपाध्यक्ष शिवाकुमारी खड्कासहितका जनप्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूले खेलाडीलाई हौसला प्रदान गर्न खेल प्रदर्शन अवलोकन गरेका थिए ।


गुराँसमा आयोजना गरिएको क्रिकेट प्रतियोगिताले स्थानीय युवामा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै नयाँ खेल प्रतिभाको पहिचान र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । निर्माणाधीन रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनुले स्थानीय खेल पूर्वाधारको उपयोग र विकासको सम्भावनासमेत उजागर गरेको छ ।

 

प्रकाशित मितिः   November 10, 2026 at 8:28 pm 


  • प्रतिक्रिया दिनुहोस्