राष्ट्रिय खेलकुदको मिति नजिकिँदै, कर्णालीका खेलाडी बन्द प्रशिक्षणमा

सुर्खेत। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई कर्णाली प्रदेशले तीव्रता दिएको छ। प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित कर्णालीका खेलाडीको बन्द प्रशिक्षण सुरु गरिएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले पहिलो चरणमा छनोट गरेका खेलमध्ये ह्याण्डबल र ब्याडमिन्टनको बन्द प्रशिक्षण आइतबारदेखि सञ्चालन गरेको हो। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लको प्रमुख आतिथ्यतामा दुवै खेलको बन्द प्रशिक्षण शुभारम्भ गरिएको छ।

आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगितालाई लक्षित गर्दै खेलाडीको क्षमता अभिवृद्धि, खेल कौशलमा सुधार र प्रतिस्पर्धात्मक तयारीलाई प्रभावकारी बनाउन बन्द प्रशिक्षण सञ्चालन गरिएको परिषद्ले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगितामा कर्णालीको सहभागिता र नतिजालाई प्रभावकारी बनाउने लक्ष्यसहित विभिन्न खेलका खेलाडीलाई चरणबद्ध रूपमा बन्द प्रशिक्षणमा सहभागी गराइने बताए। पहिलो चरणमा छनोट भएका अन्य खेलको प्रशिक्षणसमेत क्रमशः सञ्चालन गरिने उनको भनाइ छ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजक संघीय सरकार र सहआयोजक कर्णाली प्रदेश सरकार रहेका छन्। पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि १०औँ संस्करण आयोजना गर्ने जिम्मेवारी कर्णालीले पाएको थियो। यद्यपि, पूर्वनिर्धारित समयमा प्रतियोगिता आयोजना हुन नसक्दा हालसम्म पाँचपटक मिति सारिसकिएको छ। पटकपटक मिति सर्दा प्रतियोगिताको आयोजनामाथि विभिन्न प्रश्न उठ्दै आए पनि यसपटक भने तोकिएकै समयमा प्रतियोगिता सम्पन्न गर्ने लक्ष्यसहित तयारी अघि बढाइएको छ।

प्रकाशित मितिः   November 9, 2026 at 7:47 am 


  • प्रतिक्रिया दिनुहोस्