ईश्वर अधिकारी

सुर्खेतः खारेज भइसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत र चीनका लागि ‘कम्फरटेबल सरकार’ बनाउने भनेर दिएको अभिव्यक्तिले खुबै चर्चा पायो । नेकपा विघटनको केही दिन अघिको यो अभिव्यक्ति विवादित बन्यो । उनको निकै आलोचना भयो । प्रचण्ड–नेपाल समूह भारत र चीन परस्त भएको बात समेत लाग्यो । यद्यपी नेपाली राजनीतिमा नेताहरूलाई लाग्ने यस्ता आरोप नौला भने होइनन् । खास गरी प्रचण्डलाई यसपटक फेरि आफ्नै अभिव्यक्तिले निकै अब्ठ्यारोमा पारिदियो । प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीविरुद्ध सडकमा जनमत बटुलिरहेका उनले संसद् पुनस्र्थापना भएपछि सरकार गठनबारे दिएको अभिव्यक्तिले आम नेता कार्यकर्ता लज्जित बने ।
विघटित संसद् पुनस्र्थापना भएपछि प्रचण्ड–नेपाल समूहको नेतृत्वमा सरकार बन्ने आँकल गरिएको थियो । तर, सरकार बनाउन दल चाहिन्थ्यो । पार्टी आधिकारीताको लडाइँ सकिएको थिएन । नेकपाका दुवै समूहलाई आधिकारीक पुष्टि गर्न निकै चुनौति थियो । तै पनि आफ्नै समूहले पार्टी र चुनाव चिन्ह सूर्य पाउने उनीहरूका जिकिर थिए । ओली हटाएर सरकार बनाउने सन्दर्भमा प्रचण्डले एउटा सञ्चार माध्यममा ‘कम्फरटेबल सरकार’ बन्ने दाबी गरिदिए ।
प्रचण्डले भनेजस्तै उत्तर दक्षिणका छिमेकी मुलुकलाई ‘कम्फरटेबल’ हुने सरकार बन्न नसकेपनि उनको तत्कालीन पार्टी नेकपाका नेता कार्यकर्तालाई चाहीँ यतिबेला ‘कम्फरटेबल’ बन्ने वातावरण जुरेको छ । आन्तरिक किचलोको चक्रव्यूमा फसेको नेकपा खारेज भएको छ । पूर्ववत पार्टीमा फर्कन पाउँदा नेकपा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता खुसी छन् । माओवादी केन्द्रका भन्दा एमालेका कार्यकर्ता बढी नै ‘कम्फर्ट फील’ गरिरहेका छन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा) को यात्रा छिटै टुंगियो । कम्तीमा आधा शताब्दी शासन गर्ने लक्ष्यसहित गरिएको पार्टी एकीकरण मुस्किलले तीन वर्ष पनि टिकेन । यात्रा जति छोटो भयो उति नै कष्टकर पनि ।
यो बीचमा नेकपाकामा थुप्रै उतारचढाब आए । एमाले र माओवादी केन्द्रबीच चुनावी एकता हुँदै अघि बढेको राजनीतिक कोर्ष पार्टी एकीकरणकै तहमा पुग्यो । ६०/४० को भागबण्डाका आधारमा निर्वाचनमा उमेदवार बनाइँए । उनीहरू प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिए । मिलेर चुनावमा गएका दुई पार्टीलाई दुईतिहाइ मत पनि आयो । यही नतिजाका कारण उनीहरू पार्टी नै एकीकरण गर्ने तहमा पुगेका थिए । जनताले वाम एकतालाई अनुमोदन गरेको उनीहरूको बुझाइ थियो ।
नेकपाको एकता तत्कालीन पार्टीका शीर्ष नेतृत्वको सहमति थियो । आम मतदाता र दुवै पार्टीका नेताहरूले उतिबेला यसलाई सहजै अनुमोदन गरेजस्तो पनि देखिन्थ्यो । तर, भित्रि बेथा र बाध्यता फरक थिए । ‘हामी खुसी थिएनौं,’ एमाले सुर्खेतका नेता कुलमणि देवकोटा भन्छन्,’ किनकी माओवादीसँग हाम्रो पार्टीका आधारभूत चरित्र नै मिल्थेनन् । त्यसबेला बोले एकता विरोधी भइने जोखिम थियो । तर, पनि हामीले भनेकै हो । यो टिक्नेवाला छैन । जुन परिणाम अहिले देखिहाल्यो ।’ उनले एमाले नै हुन पाउँदा आफूलाई मात्र नभइ सबै नेता कार्यकर्तालाई ‘कम्फरटेबल फील’ भएको बताए । व्यवस्थित पार्टी संरचना भएको एमाले ब्युँतिन बित्तिकै क्रियाशील बनिसकेको उनी बताउँछन् । धरातल नै फरक भएका पार्टी जवरजस्ती एक बनाउन खोज्दा एकीकरणको यात्रा असहज भएको उनको अनुभव छ ।
तत्कालको निर्वाचन परिणामबाट हौसिएका नेतृत्वले पार्टी एकताबारे आम कार्यकर्ताको मनोविज्ञान के हुनसक्छ भन्नेबारे ख्याल नगरेको देवकोटाको अनुभवले पनि प्रष्ट पार्छ । उनका अनुसार एमालेका माथिल्लादेखि तल्लो तहसम्मका कमिटी तथा जनवर्गीय संगठनहरू चलाएमान थिए । नियमित अधिवेशन, बैठक, भेला र नेतृत्व चयनमा लोकतान्त्रिक विधि थियो । एकतापछि यी सबै गतिविधि हराए । पार्टी अव्यवस्थित बन्दै गयो । अनेक बेथिति भित्रिए । पार्टी पद्धतिमा चल्न सकेन ।
जनताले आफूहरूमाथि भरोसा गरेकाले एउटै पार्टी बनाएर जाँदा नेपाली कम्युनिष्ट आन्दोलनले ऐतिहासिक उचाइ लिने र कम्युनिष्टहरूका लागि दीर्घकालीन हित हुने ठम्याइँ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेतृत्वको थियो । एकीकरणबारे उतिबेलै केही सन्देह नभएको भने होइन, पार्टीभित्र र बाहिर दुवैतिर थुप्रै आशंका थिए । तर, एकीकरणको सन्देश भने तत्कालका लागि रामै गएको थियो ।
नवगठित नेकपाको अन्तरिम विधान बन्यो । जसलाई नेताहरूले सहमतिको ‘डकुमेन्ट’ पनि भन्ने गरेका छन् । सोही सहमतिका आधारमा पार्टीमा दुई वटा अध्यक्ष रहने व्यवस्था गरियो । एकीकरणका बाँकी काम सक्न र दुवै दलको सहअस्थित्वका लागि यसो गरिएको नेताहरूले बताएका थिए । एकीकरणका सबै काम सम्पन्न भएपछि अधिवेशनमा जाने सहमति थियो ।
नेकपाका अध्यक्षद्वय ओली र दाहालले एकीकरणको सुरूवातीमा पार्टी नेतृत्व र कार्यकर्तामा राम्रो उर्जा पनि भरे । पार्टीभित्र विस्तारै आन्तरिक विवाद सुरू भयो । पार्टी गतिविधि भद्रगोल बने । दलभित्रको त्यो किचलो सिद्धान्त र नीतिको थिएन । जुन कुरा यतिबेला विकशीत राजनीतिक घटनाक्रमले एक हदसम्म पुष्टि नै गरिदिएको छ । तत्कालीन नेकपाका नेताहरू भन्छन्, ‘सहमतिका आधारमा बनेको पार्टीमा स्वार्थ समूह हाबी हुँदै गयो । अनि पदका लागि पार्टी नै विभाजित अवस्थामा पुग्यो ।’ अहिले नेकपा कानुनी रुपमै अलग–अलग भएको छ । एमाले र माओवादी केन्द्र एकीकरणपूर्वको अवस्थामै अर्थात २०७५ जेठ २ मा फर्किएका छन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने फैसला गरेको छ । यसले नेकपाको एकीकरणलाई खारेज मात्र गरेको छैन एमाले र माओवादी केन्द्रलाई पूर्ववत रूपमा जगाइदिएको छ ।
एमाले खुसी, माओवादी केन्द्र निराश

सर्वोच्चको फैसलाबाट एमालेका नेता कार्यकता अलि बढी नै हौसिएका छन् । आफ्नै पार्टीको पृष्ठभूमिमा फर्कन पाउँदा उनीहरू खुसी देखिन्छन् । तर, माओवादी केन्द्रमा भने उस्तो उत्साह देखिदैन । उनीहरू निराशसँगै बेखुसी पनि छन् । नहुन पनि किन ? ओलीविरुद्धको आन्दोलनमा संसद्देखि सडकसम्म जमेरै साथ दिएको माधव नेपाल समूह उनीहरूसँग हात मिलाएर विदा भएको छ । ‘ओली प्रवृत्ति’ विरुद्ध आ–आफ्नै पार्टीमा रहेर लड्ने यीनीहरूले बताएका छन् । प्रचण्डसँगको केही दिनको प्रेमले मात्र नेपाललाई आफैले हुर्काइ बढाइ गरेको दल त्याग्न सजिलो पनि थिएन । उनी आफ्नो समूहसहित परेको व्यहोर्ने आँट बोकेर पुनः एमाले बनाउने अभियानमा फर्किएका छन् । पूर्वमाओवादीकै आधा दर्जन प्रभावशाली नेताहरूले प्रचण्डको साथ मात्र छोडेका छैनन् माओवादी केन्द्रमै नरहने र एमालेमै समाहित हुने निर्णय गरिसकेका छन् । आन्दोलनका सहयात्रीले बीचमै छोडेपछि प्रचण्ड नोक्सानमा छन् । नेपाल समूहले एमालेमै रहने निर्णय गर्नु भनेकै ‘ओली प्रवृत्ति’ विरुद्ध भनेर छेडिएको प्रचण्ड–माधव समूहको आन्दोलन दिशाहीन हुनु हो । अझै भनौं आन्दोलन लगभग टुंगिएको अवस्था हो । माओवादी केन्द्रको संख्या साविकको भन्दा थोरै भएको छ भने राजनीतिक हिसाबमा मनोबल कमजोर देखिन्छ ।
उतिबेला माओवादी केन्द्र एमालेसँग एकीकरण हुनु उसका लागि ‘सेफ ल्याण्डिङ’ थियो । कुनै बेला निर्वाचन जितेर पहिलो दल बनेको माओवादी केन्द्र केही वर्षमै संख्यामा सानो र विचारमा स्खलित भइसकेको थियो । यसो हुनुमा कारण आन्तरिक विवाद नै थियो । यति बेलासम्म बाबुराम, बैद्य, विप्लवजस्ता नेताहरूले प्रचण्डको साथ छोडिसकेका थिए । एमालेलाई माओवादी केन्द्रको साथ लिएर पहिलो पार्टी हुँदै स्थीर सरकार चलाउनु थियो । समग्रमा दुवै दलको स्वार्थ थियो, कांग्रेसलाई केही वर्ष सत्तामा पुग्न नदिने । स्वार्थ दुवैका आ–आफ्नै थिए, भलै यसलाई ऐतिहासिक कम्युनिष्ट एकता वा यस्तै अरू केही अमूर्त नारा किन नदिइएको होस् । यीबाहेकका कैंयन व्यक्तिगत स्वार्थ पनि पक्कै लुकेका थिए, शीर्ष नेतृत्वसँग । यति हुँदाहुँदै पनि विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस खालको निर्णयले उतिबेला नेपालका कम्युनिष्टहरूमा सकारात्मक सन्देश भने प्रवाह गरेकै थियो ।
एमाले सुर्खेतका अर्का नेता टेकेन्द्रकुमार बस्नेतले पार्टी एकीकरण गर्दा नै नेतृत्वमा इमान्दारीता नदेखिएका कारण अहिलेको परिणाम भोग्नु परेको बताए । उनकाअनुसार एकता नै कमजोर धरातलमा गरिएकाले यो परिणाम ढिलोचाँडो आउने नै थियो । बस्नेत भन्छन्, ‘राजनीतिक इमान्दारीताको अभाव नै मुख्य समस्या हो । नेपालका कम्युनिष्टहरूले यसको निर्मम समीक्षा तथा आत्मालोचना गर्न जरुरी छ ।’ पार्टी एकता गर्नु ठिक भएपनि त्यसपछिको व्यवस्थापनमा नेतृत्व अससफल भएको उनले बताए । पद र प्रतिष्ठालाई केन्द्रमा राखिदा अहिलेको अवस्था आएको बस्नेत बताउँछन् । दलभित्रबाटै सरकारलाई निरन्तर असहयोग हुनुले पनि माहोल बिग्रदै गएको उनको बुझाइ छ ।
सत्तारुढ पार्टी नै खारेज हुँदा तत्कालको समस्या टरेपनि यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई दीर्घकालीन रुपमा क्षति पुग्ने नेता बस्नेतले बताए । ‘राजनीति निकै अस्वस्थ बनिसकेको थियो । त्यसरी अघि बढ्न सकिने सम्भावना पनि थिएन । त्यस्तै श्रृंखला चलिरहनु भन्दा छुट्टिएकै जाति भयो,’ उनले भने, ‘तर ऐतिहासिक अवसर भने पक्कै गुम्यो ।’ नेता बस्नेतले माओवादीसँग एमालेलाई ‘एड्जस’ हुन गाह्रो भएको अनुभव सुनाए । ‘हाम्रा पार्टी कमिटी चलायमान थिए । नियमित अधिवेशन हुन्थे, एउटा विधि र पद्धतिमा थियो, पार्टी । माओवादीमा त्यो थिएन,’ बस्नेतले भने, ‘जसले गर्दा हाम्रा पुराना संगठन भत्किए । नयाँ पनि बन्न सकेनन् ।’
माओवादी केन्द्रका नेताहरू भने पार्टी विघटन हुनुमा नेतृत्वको असफलता ठान्छन् । ‘एकता हुँदा स्वभाविक रुपमा हामी पनि उत्साहित थियौं । त्यसलाई जनमतको सम्मान र संरक्षण गरेको अर्थमा बुझिएको थियो,’ माओवादी केन्द्र सुर्खेतका नेता गंगाराम तिमिल्सिना भन्छन्, ‘यो नेतृत्वको असफलता मात्र होइन कम्युनिष्ट आन्दोलनमाथि नै धोका हो । चाहेर नचाहेर हामी विभाजित बन्नुप¥र्यो ।’ पार्टी एकीकरण हुँदा दीपावली गरेका तीनै मान्छे अहिले खारेज हुँदा पनि उत्साहीत बनेको देख्दा भने उनलाई अचम्म लागेको छ । भन्छन्, ‘यो कस्तो प्रवृत्ति होला, नेकपा विघटन हुनु त सबैका लागि दुखद् हुनुपर्ने हो ।’ नेकपा नरहनुमा उनी बाहिरी शक्तिको चलखेल समेत रहेको दाबी गर्छन । एकताको सम्भावना भने अझै जिवितै रहेको उनको भनाइ छ ।
ब्युँतिएपछिको हर्षबडाइँ र क्रियाशीलता

सर्वोच्च अदालतको फैसलाले नेकपाका कार्यकर्तामा निराशा देखिनुपर्ने हो । बहुमतप्राप्त यति ठूलो सत्तारुढ दल नै खारेज भएको थियो । तर, अदालतको फैसलापछि खासगरी नेकपा एमालेका नेता कार्यकर्ता हर्षित छन् । उनीहरूले देशभर दीपावली र हर्षबडाइँ गरिरहेका हुन् । एमालेका कार्यकर्ता पार्टी ब्युँतिएको दिनदेखि नै क्रियाशील बनिसकेका छन् । देशभरका कार्यालयमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का साइनबोर्ड हटाउन थालिएको छ । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयसहित जिल्ला तथा प्रदेशका पार्टी कार्यालयहरूमा एमालेका साइनबोर्ड राखिएका छन् ।
अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्रले आ–आफ्ना पार्टी गतिविधि अघि बढाएका हुन् । दुवै दलका नेता कार्यकर्ता पार्टी कार्यालयको व्यवस्थापनमा जुटेका छन् । देशभरका कार्यालयमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का साइनबोर्ड हटाउन थालिएको छ । पार्टी ब्यूँतिएपछि दुबै दलका कार्यकर्ता उत्साहित बनेका छन् । उनीहरू दीपावली गरेर हर्ष मनाउ गर्दै पार्टीमा क्रियाशील बनेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित ऋषि स्मृति भवनमा एमाले जिल्ला र प्रदेश कार्यालयको साइनबोर्ड राखिएको छ । दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेको कार्यालय यसै भवनमा थियो । नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि कार्यालय बन्द थियो भने पार्टीका गतिविधिहरू बाहिरै हुने गरेका थिए । सुर्खेतमा साइनबोर्ड राखेपछि एमालेका नेता कार्यकर्ता उत्साहित भएर नाचगान समेत गरेका छन् । उनीहरूले पार्टी ब्यूँतिएको खुसीयाली साटासाट गरेका हुन् । सुर्खेतमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसहितको साइनबोर्ड राखिएको हो । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । सर्वोच्च अदालतले पूर्ववत पार्टीलाई नै वैधानिकता दिएपछि नेकपा खारेज भइसकेको छ ।
एमालेको जिल्ला र प्रदेश पार्टी कार्यालयको झण्डै एक सय मिटर पूर्वमा माओवादी केन्द्रको कार्यालय छ । त्यहाँ पनि मंगलवार माओवादी केन्द्रको बोर्ड राखिएको छ । एमालेहरूले धुमधामका साथ खुसी मनाइरहेका बेला माओवादी केन्द्रमा भने त्यस्तो उत्साह देखिदैन । पार्टी कार्यालयमा चहलपहल छैन । माओवादी केन्द्रका कार्यकर्ता नेकपा खारेजपछि रमाइलो र मजाक गर्ने मुडमा छैनन् । उनीहरू अलि बढी नै निराश देखिएका छन् ।
अन्तरघुलन नहुँदै ‘डिभोर्स’

नेकपा एमाले र माओवादी केन्द्र औपचारिक एकीकरण भएको लामै समय हुँदा पनि अपवादबाहेक उनीहरूमा एकै पार्टीका कार्यकर्ता जस्तो आत्मियता देख्न भने पाइएन । पार्टी एकीकरणको राम्ररी झलक नदेखिदै उनीहरूको बिछोड भइगयो । यतिका लामो समयसम्म एउटै दलमा रहेरका एमाले र माओवादी केन्द्र अन्तरघुलन हुन सकेनन् । उनीहरूले दूरी बनाएरै सँगै हिँडेजस्तो गरे । नेता कार्यकर्ताका भेला, छलफल र सम्पर्क स्थान मात्र होइन चिया चौतारो समेत एउटै हुन सकेन । २०७५ जेठ ३ गते औपचारिक रूपमा पार्टी एकता गर्ने निर्णय गरेको नेकपाले जेठ २३ गते निर्वाचन आयोगबाट पार्टी एकै भएको प्रमाण–पत्र पाएको थियो ।
पार्टी एकीकरण भएपनि भावनात्मक एकता नहुँदै दुवै पार्टीका कार्यकर्ता पुरानै पृष्ठभूमिका फर्किएका छन् । यसअघि भारी मन बनाएर ‘होर्डिङ बोर्ड’ हटाने कार्यकर्ताले अहिले खुसी मनले तीनै ‘बोर्ड’ टाँसिरहेका हुन् । पूर्ववत पार्टीमा अहिले नै सबै ठिकठाक भइहाल्ने अवस्था भने छैन । यी पार्टीमा गुटगत राजनीति थप झाँगिने निश्चितप्रायः छ । यो बीचमा पोखिएका तितोपिरो र आरोप–प्रत्यारोप पखाल्न दुवै पार्टीलाई सहज देखिदैन । नेकपा एमाले र माओवादी केन्द्र अझै केही महिना आन्तरिक कलह व्यवस्थापनमै रुमलिरहने छन् ।
प्रकाशित मितिः March 12, 2021 at 11:22 am























कर्मसञ्चार । २०७७ फागुन २८ गते शुक्रवार