सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ संकलन

देशभर आबद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्यो, कर्णालीमा ३१४ रोजगारदाता संस्था आबद्ध

सुर्खेत । सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब संकलन भएको छ । असोज मसान्तसम्म ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताले हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान गरेका हुन् । कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका योगदानकर्ता आबद्ध छन् ।
सहभागिताको हिसाबले वैदेशिक रोजगारीमा जानेहरूको संख्या ठूलो छ । कोषकाअनुसार सोही कारण योगदानको हिसाबले पनि उनीहरूले नै बढी गरेका छन् । वैदेशिक रोजगारी क्षेत्रबाट मात्रै २४ लाख ५० हजार ९५८ जना कोषमा आबद्ध भएका छन् । यो कुल योगदानकर्ताको करिब ७५ प्रतिशत हो । त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना कोषमा आबद्ध भएको जनाइएको छ । औपचारिक क्षेत्रअन्तर्गत सातै प्रदेशबाट योगदानकर्ता आबद्ध भएका छन् ।
प्रदेशगत रूपमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । त्यसपछि लुम्बिनी, मधेस, गण्डकी, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् । बागमतीमा रोजगारदाता संस्थाको संख्या पनि सबैभन्दा धेरै छ । तथ्यांकअनुसार औपचारिक क्षेत्रबाट २३ हजार ८०७ रोजगारदाता संस्था कोषमा आबद्ध छन् । प्रदेशगत रूपमा बागमतीमा १५ हजार ५५१ रोजगारदाता संस्था छन्। कोशीमा २ हजार ७०३, मधेसमा १ हजार ३२१, गण्डकीमा १ हजार ४२८, लुम्बिनीमा २ हजार १९०, कर्णालीमा ३१४ र सुदूरपश्चिममा ३८० रोजगारदाता संस्था आबद्ध छन् । यसले सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रको सहभागिता बागमती प्रदेशमा सबैभन्दा बढी केन्द्रित रहेको देखाएको छ । विशेषगरी निजी कम्पनी, उद्योग, प्रतिष्ठान तथा अन्य संगठित संस्थामार्फत औपचारिक क्षेत्रका श्रमिक कोषमा जोडिएका छन् ।
कोषमा आबद्ध हुने योगदानकर्ताको संख्यामा वैदेशिक रोजगारी क्षेत्र सबैभन्दा अगाडि छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने व्यवस्था कार्यान्वयनमा आएपछि यस क्षेत्रबाट ठूलो संख्यामा योगदानकर्ता थपिएका हुन् । औपचारिक क्षेत्रपछि योगदानकर्ताको ठूलो हिस्सा वैदेशिक रोजगारी क्षेत्रको छ । तर अनौपचारिक तथा स्वरोजगार क्षेत्रको सहभागिता भने निकै न्यून छ । कुल ३२ लाखभन्दा बढी योगदानकर्ता आबद्ध हुँदा अनौपचारिक क्षेत्रका १ हजार १६८ र स्वरोजगार क्षेत्रका १ हजार ४९२ जना मात्रै कोषमा जोडिएका छन् । यसले श्रम बजारमा ठूलो हिस्सा ओगट्ने अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन अझै चुनौती रहेको देखाएको छ ।

प्रकाशित मितिः   November 13, 2026 at 9:24 am 


  • प्रतिक्रिया दिनुहोस्