
नेता कंडेलले फेसबुकमा लेखेको स्टाट्स ।
सुर्खेत, १५ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कँडेलले नेकपा सचिवालयको निर्णयप्रति असन्तुष्टि पोखेका छन् । कर्णाली प्रदेश कमिटीमा आफूहरूले सिफारिस गरेका व्यक्तिको नाम हटाइएको भन्दै कंडेलले सामाजिक सञ्जाल फेसबुकमा कडा शब्दमा असन्तुष्टि जनाएका हुन् ।
कर्णाली प्रदेशको कार्यदलले सर्वसम्मत प्रदेश सदस्यको नामावली बुझाएको भएपनि सचिवालयले आवश्यक निर्णय गर्नुको साटो अर्को कार्यदल बनाइ सचिवालयको हवाला दिँदै प्रदेश कमिटी सस्यको नामावली सार्वजनिक भएको भन्दै कंडेलले आपत्ति जनाएका छन् । उनले फेसबुक स्टाट्समा लेखेका छन्,– विगतमा प्रदेश कमिटीमा रहेका, अञ्चलमा रहेका, जिल्लामा रहेका पुराना कमरेडहरुको नाम छैन । यस्तै हो भने नेकपाको सचिवालयले राम्रै पार्टी बनाउने भयो ।’ उनले पुराना, अनुभवी र पार्टीलाई योगदान गरेका व्यक्तिहरूको नाम प्रदेश कमिटीमा नपरेको भन्दै पार्टीको शिर्ष नेतृत्व र सचिवालयलाई राम्रै पार्टी बनाउने भए भन्दै व्यंग्यसमेत गरेका छन् ।

सत्तारुढ नेकपा सचिवालयले बुधबार सातवटै प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिएपछि बिहीबार प्रदेश कमिटी सदस्यको नामावली सार्वजनिक भएको थियो । पूर्वएमाले र पूर्वमाओवादीका पुराना नेताहरू प्रदेश कमिटीमा नपर्नु र सोही विषयलाई लिएर नेकपाका प्रभावशाली नेता एवं कर्णाली प्रदेश सह–इन्चार्ज कंडेलको असन्तुष्टि सार्वजनिक हुनुले नेकपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू सामाजिक सञ्जालमै विभिन्न खाले अड्कलबाजीमा उत्रिएका छन् ।
प्रकाशित मितिः December 1, 2018 at 12:17 pm













कर्मसञ्चार । २०७५ मंसिर १५ गते शनिवार