नेपाल प्रिमियर लिग

पाँचौं जित निकाल्दै सुदूरपश्चिम बन्यो प्लेअफमा पुग्ने पहिलो टोली


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले लगातार पाँचौ जित निकालेको छ । योसँगै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा साविक विजेता जनकपुर बोल्ट्समाथि ६ विकेटको जित निकालेर सुदूरपश्चिम लिग चरणका दुई खेल बाँकि छदै प्लेअफमा पुगेको हो । यस्तै आजको जितले सुदूरपश्चिमले अघिल्लो सिजनको फाइनलमा जनकपुरसँग ब्यहोरेको हारको बदला समेत लिएको छ । यता लगातार चार खेलमा पराजित भएको जनकपुर भने अब लिग चरणबाटै बाहिरिएको छ। अब उसले आफ्ना बाँकी तीन खेल जितेर मात्र पुग्दै अरु टोलीको नजितामा पनि भर पर्नु पर्नेछ । सुदूरपश्चिमले शनिबार जनकपुरले दिएको १४६ रनको लक्ष्य १७.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । सुदूरपश्चिमको जितमा इशान पाण्डेले अर्धशतक प्रहार गरे । ओपनर बिनोद भण्डारीसँग महत्वपूर्ण साझेदारी गरेका इशानले ५६ रन जोडे । उनले ३५ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए ।
खराब सुरूवात गरेको सुदूरपश्चिमले इनिङको पहिलो बलमै जोश ब्राउनलाई गुमाएको थियो । ब्राउनलाई जनकपुरका पाकिस्तानी बलर माज सदाकले बोल्ड गर्दै गोल्डेन डक गरे। अर्को ओभरमा क्रिस लिन पेभिलियन फर्के। उनलाई सञ्जय कृष्णमूर्तिले शुभ कंसाकारबाट १ रनमा क्याच गराए। त्यतिबेला उनले २ रन मात्र जोड्न सकेको थियो । त्यसपछि तेस्रो विकेटका लागि विनोद भण्डारी र इशान पाण्डेले ९१ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई अघि बढाए ।
१४औं ओभरमा आउट भण्डारीले ४२ रन जोड्ने क्रममा ४९ बल खेलेर ३ चौका र १ छक्का प्रहार गरे । भण्डारीलाई सादले आरिफ शेखबाट क्याच गराए । पाण्डे १६औं ओभरमा अर्धशतक बनाएर आदित्य महताको बलमा बाउन्ड्रीमा क्याच भए पनि सुदूरपश्चिम सहज स्थितिमा पुगिसकेको थियो । उसले ४ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । अन्त्यमा दीपेन्द्रसिंह ऐरीले ७ बलमा नटआउट १० रन र हर्मित सिंहले १० बलमा १ चौका र ३ छक्काको मद्दतमा नटआउट २५ रन बनााए । बलिङमा जनकपुरका सदाकतले २ विकेट लिए । उनले ४ ओभरमा २५ रन दिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ८ विकेटको क्षतिमा १४५ रन बनायो । जनकपुरका लागि मध्यक्रमका ब्याटर सञ्जय कृष्णमूर्तिले अर्धशतक प्रहार गरे। कृष्णमूर्तिले ३८ बलमा ५० रन बनाउदा ४ चौका र २ छक्का प्रहार गरे ।
त्यसअघि खराब सुरुवात गरेको जनकपुरका ओपनिङ ब्याटर आसिफ शेख इनिङको चौथो बलमै सुदूरपश्चिमका स्कट कुगेइलिनबाट बोल्ड भएका थिए । दुई ओभरपछि मयन यादव पनि ६ रनमा आउट भएपछि जनकपुर सुरुमै दबाबमा आउन पुग्यो। मयनलाई पनि कुगेइलिनले नै एबलिडब्लूको धरापमा परेका थिए । जनकपुरको विकेट जाने क्रम रोकिएन । ओपनिङ गरेका पाकिस्तानी ब्याटर माज सदाक छैटौं ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीबाट १२ रन बनाएको अवस्थामा बोल्ड भए। यसरी पावरप्लेमै उसले तीन विकेट गुमायो भने ३५ रन मात्र बनाउन सक्यो । त्यसपछि यान निकोल लोफ्टी इटनले ३९ रनको योगदान दिँदा जनकपुरको आसा पलायो । उनले ३३ बलमा २ चौका र २ छक्का प्रहार गरे । कृष्णमूर्तिले पाँचौ विकेटका लागि आदित्य महतासँग ५५ रनको साझेदारी गरे। उनी १८औं ओभरको दोस्रो बलमा अविनास बोहराबाट बोल्ड भए । लगत्तैको बलमा बोहराले शुभ कंसाकरालाई आरिफ शेखबाट क्याच गराए। आदित्यले १९औं ओभरमा आउट हुनुअघि१३ बलमा १५ रन बनाए ।
अन्तिम बलमा आउट भएका कप्तानको जिम्मेवारी पाएका वाइन पार्नेलले १२ बलमा १ चौका र १ चौकाको मद्दतमा १४ रन बनाए । बलिङमा सुदूरपश्चिममा अविनासले ४ विकेट लिए । उनले ४ ओभरमा ३० रन दिए। कुगेइलिनको नाममा ३ विकेट रह्यो। उनले ४ ओभरमा २२ रन दिए। कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिँदा ३ ओभरमा ३० रन दिए ।

प्रकाशित मितिः   November 29, 2025 at 7:17 pm 


  • प्रतिक्रिया दिनुहोस्