फिफा विश्वकप - २०२६

अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

काठमाडौं ।  स्पेन सन् २०२६ को फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको छ। सन् २०१० मा अतिरिक्त समयमा गोल गर्दै पहिलो पटक विश्वकप जितेको स्पेनले १६ वर्षपछि आइतबार राति सोही इतिहास दोहोर्‍याएको हो। अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्व च्याम्पियन बनेको छ।

वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फेरान टोरेस स्पेनका लागि नायक बने। उनले खेलको १०६औँ मिनेटमा अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजलाई छक्याउँदै गोल गरे। यो गोलले लिओनल मेसी र अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकप जित्ने सपनालाई चकनाचुर पारिदियो। ३९ वर्षीय मेस्सीका लागि यो प्रतियोगिताकै सबैभन्दा शान्त खेल रह्यो। खेलको सुरुवाती १५ मिनेटमा उनले केवल एक पटक बल छोएका थिए, त्यो पनि खेल सुरु गर्दाको ‘किक-अफ’ मा मात्र थियो।

अर्जेन्टिनाले पहिलो हाफमा एउटा पनि प्रहार गर्न सकेन। स्पेनले खेलभरि उत्कृष्ट प्रदर्शन गर्दै दबाब बनाए पनि टोरेसको गोल अघिसम्म निर्णायक अग्रता लिन सकेको थिएन। खेलको बीचमा मडोना, बीटीएस, जस्टिन बिबर र साकिरा जस्ता कलाकारहरूको २७ मिनेट लामो ‘हाफ-टाइम शो’ का कारण खेल केही समय रोकिएको थियो।

खेल अतिरिक्त समयतर्फ धकेलिँदै गर्दा अर्जेन्टिना दबाबमा पर्‍यो। अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले स्पेनका युवा डिफेन्डर पाउ कुबार्सीलाई खराब फाउल गरेपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए। न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको उक्त खेलमा अर्जेन्टिना १० खेलाडीमा सीमित भयो। एक खेलाडी बढी हुनुको फाइदा उठाउँदै अतिरिक्त समयको ३० मिनेटमा स्पेनले पूर्ण नियन्त्रण जमायो। निकोलस ओटामेन्डीमाथि फाउल भएको भन्दै स्पेनको एउटा गोल रद्द गरिए पनि अन्त्यमा टोरेसको गोल नै जितका लागि पर्याप्त बन्यो।

प्रकाशित मितिः   July 20, 2026 at 11:17 am 


  • प्रतिक्रिया दिनुहोस्