बाल अधिकार संरक्षणका लागि सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेशमा बाल अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै साझा छलफल गरिएको छ । वीरेन्द्रनगरमा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले बाल अधिकार प्रवर्द्धनमा समन्वय र सहकार्य बढाउने प्रतिबद्धता जनाएका छन् । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, सेभ द चिल्ड्रेन, स्विडेन स्वेरिजे र बाल अधिकारका लागि साझा अभियान (सिसिआर-कर्णाली) को सहयोग तथा समन्वयमा भएको कार्यक्रममा बाल अधिकार संरक्षणमा सबै पक्षको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकले बाल अधिकारको प्रवर्द्धनका लागि सरोकारवालाहरूको सहकार्य मजबुत बनाउँदै लैजानुपर्ने बताए । ‘यस्ता अभियान एकल प्रयासबाट सम्भव हुँदैनन्,’ उनले भने, ‘यसका लागि सामूहिक यात्रा जरुरी हुन्छ ।’ बालबालिकाको सवालमा खासगरी अभिभावकको भूमिका महत्वपूर्ण हुने भन्दै उनले अधिकार संरक्षण तथा प्रवर्द्धनमा सबैको साझा संकल्प आवश्यक रहेको औंल्याए । उनले सरोकारवाला निकायलाई नतिजामा आधारित अभियानहरू सञ्चालन गर्न सुझाए ।
त्यस्तै, सिसिआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै बाल अधिकारको अनुगमन, प्रमाणमा आधारित पैरवी र सामाजिक जवाफदेहितामार्फत बाल अधिकार संरक्षण तथा प्रवर्द्धन प्रणालीलाई सुदृढ गर्नुपर्ने बताए । उनले सिसिआर कर्णाली परियोजनाले बाल अधिकाको अनुगमन, संरक्षण, प्रणाली सुदृढीकरण एवम् नीति, योजना र सेवाको प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको जनाए । सिसिआर कर्णाली बाल अधिकारका लागि साझा अभियान हो, जसमा कर्णाली प्रदेशमा क्रियाशील ४० वटा संस्था आवद्ध छन् ।
सरकारी तथा गैरसरकारी निकाय र प्रदेश बाल अधिकार समितिका पदाधिकारी सहभागी उक्त अन्तरक्रियामा बालबालिकामैत्री नीति, बाल अधिकारको कार्यान्वयन, सरोकारवाला निकायबीच समन्वय एवम् आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव वृषबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सिसिआर कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यले गरेका थिए ।

प्रकाशित मितिः   July 19, 2026 at 10:59 am 


  • प्रतिक्रिया दिनुहोस्