
काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी)हरुले संघीय संसद् भवन, बानेश्वरबाहिर प्रदर्शन केन्द्रित गरेका छन् । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजीहरूले प्रदर्शन सुरु गरेका हुन्। स्वत:स्फूर्त रुपमा आज बिहानैदेखि काठमाडौंको माइतीघरमा जम्मा भएका उनीहरू ११ बजेपछि बबरमहल हुँदै नयाँबानेश्व पुगेका थिए ।
उनीहरुको प्रदर्शनका कारण काठमाडौंमा अहिले कर्फ्यू आदेश जारी भएको छ । सोमबार साढे १२ बजेटदेखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यू लगाएको छ । तर, कर्फ्यू आदेश सुरु भइसक्दा पनि प्रदर्शन रोकिएको छैन । आदेशको अवज्ञा गर्दै जेनजीहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् ।
केही प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोजेपछि थापागाउँ हुँदै सिंहदरबारतर्फको सडकमा पनि प्रदर्शन गरिरहेका छन् ।
शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न खोजेका उनीहरू पटक–पटक बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरे । त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै हल्का लाठीचार्ज गरेको छ । आक्रोशित युवाको एक समूह बानेश्वरस्थित अन्तर्राष्ट्रिय भवनको मूल गेटमा रहेको सुरक्षाकर्मी रहने सानो भवनको छतमा पुगेर प्रदर्शन गरेका छन् ।
उनीहरूले नेपालको झण्डा फहराउँदै युवालाई संसद् भवनभित्र पस्न आह्वान गरिरहेका छन् । प्रदर्शन गरिरहेका युवालाई प्रहरीले बल प्रयोग गरेर हटाउन खोजेपछि आक्रोशित युवा दुई नम्बर गेटमा पुगेका थिए । २ नम्बर गेट सांसदहरू प्रवेश गर्ने गेट हो । उनीहरू संसद् भवनभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले त्यहाँ पनि पटक–पटक बल प्रयोग गर्नुका साथै हवाइफायर गरेर प्रदर्शनकारीलाई लखेट्न खोजेको थियो ।
आक्रोशित प्रदर्शनकारीहरू बानेश्वर चोकको नजिकै रहेको सुरक्षाकर्मीको पोष्टमा चढेर नेपालको झण्डा फहराएका थिए । अरू प्रदर्शनकारीहरू समेत त्यहाँ चढ्ने प्रयास गरेपछि संसद् भवनभित्रबाट प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको थियो । त्यसपछि केहीबेर सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ढुंगा र पानीको बोतल हानाहान भएको थियो ।
कलेज पढ्ने किशोरकिशोरीहरू कलेजको ड्रेस र झोलासहित प्रदर्शनमा सरिक देखिन्छन् । हातहातमा पानीको बोतल बोकेका उनीहरूमध्ये कतिपयले नेपालको राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरिरहेका छन् । कतिपयले किशोरहरूलाई काँधमा चढाएर राष्ट्रिय झण्डा सहित प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीमध्ये कोही संसद् भवनको पर्खाल वा सुरक्षाघेरा तोड्न खोजे वरपरका प्रदर्शनकारीहरूले हो–हल्ला गरेर उनीहरूलाई हौस्याएको देखिन्थ्यो । दिउँसो साढे १२ बजे सुरक्षापोष्टमा पुगेका प्रदर्शनकारीलाई लाठीचार्ज गर्न प्रहरीको सानो टोली त्यसतर्फ अघि बढेपछि अरू प्रदर्शनकारीको टोलीले सुरक्षाकर्मीहरूलाई नै घेरेको थियो, संयमित समूहले उनीहरूलाई छेकेपछि सुरक्षाकर्मीहरू त्यहाँबाट हिँडेका थिए ।
बानेश्वर चोक र त्यसको चारैतिरको सडकमा प्रदर्शनकारीहरुको भीड छ । संसद् भवनको मूल गेट अगाडी रहेका सुरक्षाकर्मीहरुले बारम्बार अश्रुग्यास प्रहार गरिरहेका थिए । जेनजीहरूले सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरुको विलासी जीवनशैलीमा प्रश्न गर्दै विद्रोह गरेका हुन् ।













कर्मसञ्चार । २०८२ भाद्र २३ गते सोमवार