कालीकोटका अग्निपीडितलाई प्रतिपरिवार ५ लाख

सुर्खेत, पुस १४ ।

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले कालीकोटको पलाता गाँउपालिका–१ न्यौपानेवाडामा पुस ८ गते भएको आगलागीबाट पीडित परिवारहरूको पुनस्र्थापनाका लागि ‘अग्निपीडित परिवार पुनस्र्थापना कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अग्निपीडितहरूको आवास निर्माणका लागि नमूना नक्सा, प्राविधिक सहयोग र प्रति घरपरिवार ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको हो।

अग्निपीडितहरूका लागि सञ्चालन गरिने कार्यक्रमअन्तर्गत पीडित परिवारको लागि आवास निर्माणमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी संघसंस्था र व्यक्तिहरूलाई प्रदेश सरकारले आवश्यक समन्वय तथा अपिल गर्ने निर्णय पनि बैठकबाट गरिएको सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

प्रकाशित मितिः   December 29, 2018 at 1:47 pm 


  • प्रतिक्रिया दिनुहोस्