
काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी)को प्रदर्शनका क्रममा १५ जनाको मृत्यु भएको छ । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले चलाएको गोली लागेर ज्यान गएको हो ।
घाइतेहरूको उपचारका क्रममा काठमाडौंको ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसैगरी, एभरेस्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शन हिंसात्मक बन्दा अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
जेनजीहरूले स्वतःस्फूर्त रूपमा आज (सोमबार) बिहानैदेखि काठमाडौंलगायत देशका मुख्य शहरहरूमा सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन् । काठमाडौंमा कर्फ्यू आदेश जारी हुँदा पनि प्रदर्शन रोकिएको छैन । आदेशको अवज्ञा गर्दै जेनजीहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् । कलेज पढ्ने किशोरकिशोरीहरू कलेजको ड्रेस र झोलासहित प्रदर्शनमा सरिक भएका छन् । यसैबीच, सरकारले जेनजीको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई निर्देशन दिएको छ ।
प्रकाशित मितिः September 8, 2025 at 5:59 pm






कर्मसञ्चार । २०८२ भाद्र २३ गते सोमवार