मदन पुरस्कार–२०८२ को श्रेष्ठ सूची सार्वजनिक

काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । सोमबार जारी प्रेस विज्ञप्तिअनुसार यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २९८ पुस्तकमध्ये मूल्याङ्कनपछि १० कृति श्रेष्ठ सूचीमा छनोट भएका हुन् । यीमध्ये एक कृतिलाई मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ ।

छनोट भएका कृतिहरूमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद रहेका छन् ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरूमध्ये बढीमा १० वटा कृति छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गर्ने अभ्यास रहँदै आएको छ । गुठीको नियमानुसार अप्रकाशित सामग्रीको बाहुल्य रहेका पुस्तकलाई छनोटको एक आधार मानिन्छ ।

प्रकाशित मितिः   July 20, 2026 at 11:30 am 


  • प्रतिक्रिया दिनुहोस्