तीनै दलका शीर्ष नेताले गरे निर्वाचनमा जाने प्रतिबद्धता

काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन्। आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ,’ बैठकमा कांग्रेस सभापति देउवाले भने।

बैठकमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको रावलले बताए। प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो दिएकी छिन् । उनले आफ्नो निमन्त्रणा स्वीकारेर बालुवाटार आएकोमा तीनै नेताहरूलाई धन्यवाद दिइन् । ‘यो घर तपाईँहरूकै हो । म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं,’ छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भनिन् ।

प्रकाशित मितिः   December 27, 2025 at 8:36 pm 


  • प्रतिक्रिया दिनुहोस्