
सुर्खेत । नेकपा (एमाले) सुर्खेतले भोलि (कात्तिक २९ गते) वीरेन्द्रनगरमा बृहत् प्रदर्शनसहितको जनसभा आयोजना गरेको छ। जिल्लास्तरीय उक्त जनसभामा एमालेले आठ हजार कार्यकर्ता उतार्ने भएको छ। संविधानको रक्षा तथा प्रतिगामी षडयन्त्रविरूद्ध जनतालाई जागरूप बनाउने उद्देश्यका साथ जनप्रदर्शनसहितको सभा गर्न लागिएको एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए। ‘जनसभाको तयारी पुरा भइसकेको छ,’ उनले भने, ‘जनप्रदर्शनमा आठ हजार बढीको सहभागिता रहनेछ।’
यसअघि वडा र पालिकास्तरीय भेला तथा प्रदर्शनहरू उत्साहपूर्वक सम्पन्न गरेको एमाले सुर्खेतले वीरेन्द्रनगरमा र्यालीसहितको जनसभा आयोजना गरेको हो। मंगलगढीचोकदेखि दिउँसो १२ बजे सुरू हुने र्याली घण्टाघर डबलीमा पुगेर जनसभामा परिणत हुनेछ। एमालेले विघटित प्रतिनिधिसभाको पुनस्र्थापना, शान्ति, संविधान र लोकतन्त्रको पक्षमा तथा प्रतिगामी षडयन्त्रविरूद्ध शनिबार देशैभर प्रदर्शनसहितका जनसभा गर्दैछ। पार्टी केन्द्रको सर्कुल तथा जिल्ला कमिटीको निर्णयअनुसार जनसभा गर्न लागिएको एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले जनाए। ‘एमालेप्रति जनताको विश्वास र साथ छ,’ उनले भने, ‘हामीप्रति जनताको भरोसा कति छ भन्ने भोलिको जनसभामा देखिनेछ।’
एमालेले नेता–कार्यकर्ता र शुभेच्छुक गरी जनसभामा वीरेन्द्रनगरबाट मात्रै पाँच हजार बढीको सहभागिता रहने आंकलन गरेको छ । नेताहरूका अनुसार वीरेन्द्रनगरबाहेकका अन्य पालिकाबाट तीन हजार हाराहारीमा सहभागि हुनेछन् । जनसभालाई एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललगायतका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
प्रकाशित मितिः November 14, 2025 at 8:50 am


कर्मसञ्चार । २०८२ कार्तिक २८ गते शुक्रवार