ब्राम्हणहरुले रक्षाबन्धन नबाँध्ने !

दैलेख, ८ भदौ ।

दैलेखमा ब्राम्हण समाज नामक संस्थाले यो वर्ष कसैलाई रक्षाबन्धन नबाँध्ने भनी रेडियोबाट सार्वजनिक सूचना नै प्रसारण गरेको छ । कसैले जातीय विभेद गरेमा २५ हजार रुपैंयाँसम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने ‘जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०६८’ले व्यवस्था गरेको छ । उक्त कानूनले कुनै सेवा वा बस्तु प्रयोग तथा उपयोग गर्न सार्वजनिक वा निजी स्थानमा समेत रोक्न वा प्रतिबन्ध लगाउन नपाइने उल्लेख गरेको छ ।
कानूनमा त्यस्ता व्यवस्था भए पनि दैलेखमा भने उक्त संस्थाले दलितहरुलाई समेत रक्षाबन्धनको धागो बाँध्नपर्ने अवस्थामा कसैलाई रक्षाबन्धन नबाँध्ने भनीसूचना प्रसारण गरेको हो । सूचनामा नयाँ ऐनमा ब्राम्हणहरुको अधिकार उल्लेख नगरेको कारण यो वर्ष पर्सी आइतबार परेको रक्षाबन्धन जिल्लाभर कसैलाई नबाँध्ने, मृत्यु वा विवाहवारी, पूजाआजा समेत सबै धार्मिक कार्य शुक्रवारदेखि रोकिएको जनाइएको छ ।
तागाधारीलाई जनै लगाई दिने र रक्षाबन्धनको धागो बाँध्ने गरेकोमा दलित समुदायबाट समेत हिन्दू भएर पनि आफूहरुलाई दैलेखका पण्डितहरुले विभेद गरेको भनी सार्वजनिक छलफलको विषय बनाएको सन्दर्भलाई लिएर पण्डितहरुले धार्मिक कार्य रोकेका हुन् ।
रक्षाबन्धनको धागो बाँध्दै जाने क्रममा बाटोमा दलितहरुले समेत हामीलाई पनि बाँधी दिनुस् भनी आग्रह गर्न सक्छन् र नबाँध्ने हो भने मुद्दा खेप्नुपर्ने सम्भावना देखिएको कारण यो वर्ष रक्षाबन्धन नबाँध्ने, मृत्यु वा विवाहवारी, आजापूजा समेत सबै धार्मिक कार्य रोकिएको ब्राम्हण समाजका क्षेत्रीय सदस्य आत्मप्रसाद उपाध्यायले टिप्पणी गरे ।
उपाध्यायले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा हरेक दिन बिहान मन्दिरमा पूजाअर्चना गर्दै आएका पण्डितले समेत पूजाअर्चना रोक लगाएको बताए । स्थानीय रेडियोमा अन्तरवार्ता दिँदै उपाध्यायले ‘हामीले सबै धार्मिक कार्य रोकेका छौँ, क्षेत्रीहरुले आन्दोलन गर्नुपर्छ भनी उक्साउनुभएको छ ।’
एक महिना अघि दैलेखमा आएका नयाँ प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटासँगको भेटघाटको क्रममा दलित अगुवाहरुले जिल्लामा पण्डितहरुले दलितहरुलाई रक्षाबन्धनको धागो नबाँध्ने र दलितको घरमा नाग नटाँस्ने गरेको समस्या दर्शाएको विषयलाई ब्राम्हणहरुले यस्तो निर्णय गरेका हुन् ।
दलित अगुवाहरुको गुनासोको आधारमा प्रमुख जिल्ला अधिकारी बास्कोटाले अगुवा ब्राम्हणहरुलाई बोलाएर ‘अन्यत्र जिल्लामा दलितहरुलाई पनि बाँधेकै छन् दैलेखमा दलित आन्दोलन सशक्त रहेछ, उनीहरुलाई विभेदजन्य गरे मुद्दा चल्न सक्छ’ भनी पण्डितहरुलाई सुझाव दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी बास्कोटाको सुझावपछि पण्डितहरुको ब्राम्हण समाज नामको संस्थाले औपचारिक निर्णय गरी क्षेत्री बाहुनको घरमा समेत विवाह वा मान्छे मर्दा समेत गरिने कर्मकाण्डमा सहभागी नहुने भनी रेडियोबाट सार्वजनिक सूचना जारी गरेको हो ।
ब्राम्हण समाजले सार्वजनिक सञ्चार माध्यमबाट सूचना जारी गरेर दलित समुदायका अगुवाहरु माथि आक्रमण गराउने उद्देश्यले साप्रदायिकता सिर्जना गर्न खोजेको नेपाल मजदूर किसान पार्टीका जिल्ला सहसचिव लक्ष्मीकुमार बिकको टिप्पणी छ । साम्प्रदायिकताको स्थिति हुन नदिन र सहज रुपमा कानूनी हकको पालना गराउन राजनीतिक दल, जनप्रतिनिधिहरु, सरोकारवालाहरुलाई राखेर छलफल गर्न आवश्यक रहेको नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णकुमार बीसीको सुझाव छ । छलफलबाट समाधान निकाल्नेमा आफू जुटेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले बताए ।
उज्यालो अनलाइनबाट साभारः

प्रकाशित मितिः   August 24, 2018 at 6:20 pm 


  • प्रतिक्रिया दिनुहोस्