
सुर्खेतः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ‘जिम्मेवारी, चुनौती र प्रतिबद्धताको एक वर्ष’ शीर्षकमा समिक्षात्मक प्रकाशन सार्वजनिक गरेका छन् । पुस्तकमा एक वर्षको अवधिमा मन्त्रालयले गरेका काम, अभ्यास र आगामी कार्यदिशाहरू समावेश गरिएको छ ।
बिहीवार पत्रकार सम्मेलनमार्फत पुस्तक सार्वजनिक गर्दै मन्त्री भण्डारीले एक वर्षमा मन्त्रालयले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा थुपै्र असल अभ्यास र कार्यक्रमको सुरुवात गरेको दाबी गरे । ती कामहरूलाई संस्थागत रूपमै प्रस्तुत गर्न समिक्षात्मक पुस्तक सार्वजनिक गरेको उनले बताए । उनी भन्छन्, ‘सार्वजनिक पदमा बसेका व्यक्ति जनताप्रति जवाफदेहिता हुनुपर्छ, सार्वजनिक सेवाका उपलब्धि, अभ्यास र कार्ययोजनाहरू नागरिकमाझ पुर्याउनु हाम्रो कर्तव्य हो ।’
पुस्तकमा मन्त्रालय मातहतका कार्यालयहरूमार्फत सेवा प्रवाहलाई नियमित गर्न भए÷गरेका प्रयास, स्रोत साधन र जनशक्तिको अभावका बीच अघि सारिएका जनउत्तरदायी कार्यक्रम तथा नीति निर्माणमा थालिएका सुधारात्मक अभ्यासहरु लगायतका विषय समावेश गरिएका छन् । प्रशासनिक स्थायित्वको अभाव र निर्णय कार्यान्वयनको कमजोरी जस्ता कारणले मन्त्रालयले लिएको लक्ष्य हासिल गर्न चुनौती हुने गरेको मन्त्री भण्डारीको अनुभव छ । ४७ पृष्ठ लामो उक्त पुस्तकले सरकारको पारदर्शिता र जवाफदेहिताको अभ्यासमा सकारात्मक सन्देश दिएको सरोकारवालाहरुको भनाइ छ । भण्डारीले २०८१ साउन २० गते मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
प्रकाशित मितिः August 8, 2025 at 7:09 am























कर्मसञ्चार । २०८२ साउन २३ गते शुक्रवार