सेतोचिनी चोरी–निकासी, के हो सेतोचिनी ?

जाजरकोट, ८ कात्तिक ।

जिल्लाका विभिन्न लेकबाट बहुमूल्य जडीबुटी सेतोचिनी चोरी–निकासी भएको छ  । स्थानीय बासिन्दा र सरोकारवालाको मिलेमतोमा बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र नलगाड नगरपालिकाका लेकबाट सेतोचिनी संकलन र निकासी भएको हो  ।

बारेकोटको मुसे, चाखुरे, कोटे, कालीमुरी, दियाबाल्न, देउरालीपाटन, ठाकुरजी, कराइचुला, खुम्बु, कुशे गाउँपालिकाको रातापाटन, भीमपोस्तक, बाङ्गाडाँडा, ब्युलीढुंगा, सरुकाँद, चाल्नेचौर, कुशेपाटन र नलगाड नगरपालिकाको सिउन, रूप, मंसिरीलगायत लेकबाट सेतोचिनी चोरी–निकासी भएको छ । डिभिजन वन कार्यालयको इजाजत र संकलन पुर्जीबिनै ती लेकबाट एक लाख क्विन्टलभन्दा बढी परिमाणको सेतोचिनी निकासी भएको स्रोतको दाबी छ ।

पाटनमा सेतोचिनी काँचो (नसुकाएको) प्रतिकिलो ३० रुपैयाँ र पकाएर सुकाएको प्रतिकिलो एक हजारका दरले बिक्री हुने गरेको जडीबुटी व्यवसायी दानबहादुर शाहीले बताए । पाटनमा एक जनाले दैनिक दुई सय किलोसम्म सेतोचिनी संकलन गर्न सक्ने उनको भनाइ छ ।

उनका अनुसार असोज पहिलो सातादेखि तेस्रो सातासम्म ६/७ हजार स्थानीयले विभिन्न लेकमा पुगेर सेतोचिनी संकलन गरेका थिए । बारेकोटका पाटन/लेकबाट करिब १० करोड रुपैयाँको सेतोचिनी निकासी भएको उनले बताए ।

कार्ययोजना स्वीकृत नभएकाले डिभिजन वन कार्यालयले सेतोचिनी संकलन तथा निकासीका लागि इजाजत दिएको छैन । इजाजतबिना सेतोचिनीलगायत जडीबुटी संकलन तथा बिक्री गर्न मिल्दैन । अवैध रूपमा सेतोचिनी निकासी हुँदा लाखौंको सरकारी राजस्व चुहावट भएको छ । कार्यालयले कार्ययोजनामा प्रतिकिलो सेतोचिनीको पाँच रुपैयाँ राजस्व तोकेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा ५६ हजार किलो सेतोचिनी संकलन गर्न इजाजत दिने कार्ययोजनामा समावेश गरेको छ । वन पैदावार संकलन, वन संरक्षण, विकास, पूर्वाधार निर्माणलगायत कार्यका लागि पेस भएको कार्ययोजना वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत हुन नसकेको निमित्त डिभिजन प्रमुख नेपाली साह बताउँछन् ।

‘कार्ययोजना वन विभागमै थन्किएको छ,’ उनले भने, ‘इजाजतबिना सेतोचिनी संकलन तथा निकासी गर्नु अवैध हो ।’ सेतोचिनी चोरीनिकासी रोक्न कार्यालयले वन प्राविधिक खटाएको उनले बताए । उनका अनुसार जनशक्ति अभाव, भौगोलिक विकटतालगायत कारण चोरी निकासी नियन्त्रणमा आउन सकेको छैन ।

वन प्राविधिकले बारेकोट गाउँपालिका–८ मा दुई हजार एक सय किलो, वडा ४ मा तीन हजार पाँच सय किलो र वडा २ मा एक हजार किलो सेतोचिनी बरामद गरेका छन् । त्यस्तै बारेकोट–४ मा पाँच सय किलो अमलवेद बरामद भएको कार्यालयले जनाएको छ ।

कार्यालयले स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहलाई स्वीकृतीबिना जडीबुटी संकलन तथा निकासी नगर्न पटक–पटक अनुरोध गरेको थियो । बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई सेतोचिनी संकलन र निकासीमा रोक लगाउन सुझाव दिएको साहले बताए ।

अवैध कर असुली

बारेकोट गाउँपालिकाले सेतोचिनीको संकलन र निकासीबापत भन्दै डेढ करोड रुपैयाँ कर असुलेको छ । गाउँपालिकाले संकलन गर्न जाने बारेकोटभित्रका स्थानीयसँग प्रतिव्यक्ति तीन सय र बाहिरकासँग पाँच सय रुपैयाँ प्रवेश शुल्क लिएको हो ।

त्यस्तै जडीबुटी खरिद र निकासी गर्ने व्यवसायीबाट दुई लाख रुपैयाँका दरले धरौटी असुलेको छ । व्यवसायीले दाउरा (इन्धन) बापत पाँच हजारका दरले गाउँपालिकामा थप रकम जम्मा गरेका छन् । संकलनपछि गाउँपालिकाले प्रतिकिलो सेतोचिनीको १० रुपैयाँ निकासी कर लिने निर्णय गरेको थियो ।

करिब ६ हजार व्यक्तिले प्रवेश शुल्कबापत रकम तिरेको गाउँपालिकाले जनाएको छ । ६२ जना व्यवसायीले दुई लाखका दरले धरौटी जम्मा गरेको बारेकोट गाउँपालिका अध्यक्ष शाहले बताए । व्यवसायीबाट कुल परिमाणका आधारमा धरौटी कट्टा गरी थप निकासी कर लिने निर्णय भएको उनले जनाए ।

‘चोरीनिकासी नियन्त्रण गर्न नसकिने अवस्था आएपछि गाउँपालिकाको निर्णयअनुसार संकलन गर्न अनुमति दिइएको हो,’ उनले भने, ‘सेतोचिनी चोरी हुन थालेपछि संकलन पुर्जी पछि लिने गरी वन कार्यालय र गाउँपालिकाको सहमतिअनुसार उक्त निर्णय गरिएको हो ।’ सेतोचिनीबाट असुलेको डेढ करोड कर गाउँपालिकाको खातामा जम्मा भएको उनले बताए ।

गाउँपालिकाले लेकमै कर्मचारी खटाएर रकम असुलेको थियो । जडीबुटी संकलनका लागि असोज १८ देखि सर्वसाधारणलाई पाटन जान खुला गरिएको थियो । सशस्त्र प्रहरी र सेनाको ब्यारेक स्थापना नभएसम्म बारेकोटको जडीबुटी चोरीनिकासी नियन्त्रण गर्न नसकिने अध्यक्ष शाहले जनाए ।

जुम्ला–डोल्पातिर निकासी

बारेकोटबाट चोरीनिकासी भएको ५० मेट्रिक टन सेतोचिनी चाखुरे लेक पल्लोपट्टि जुम्लाको गोठीचौर गाउँपालिका–१, नापानीमा लुकाएर राखेको बारेकोट–५ का पृथीबहादुर नेपालीले बताए । मूल्यवान् जडीबुटीलाई गाउँपालिकाले जथाभावी संकलन गर्न दिन नहुने उनको भनाइ छ । जुम्ला र डोल्पाका स्थानीयले बीउसमेत नष्ट गरी सेतोचिनी संकलन गरेको उनले जनाए । ‘गाउँपालिकालगायत निकायले सेतोचिनीको चोरीनिकासीमा लापरबाही गरिरहेका छन्,’ उनले भने, ‘व्यावसायीले सेतोचिनी पकाउनका लागि धुपी, सल्लालगायत वनपैदावारसमेत क्षति गरिरहेका छन् ।’

तीन सय क्विन्टल काँचो सेतोचिनीका गाना पकाएर सुकाउँदा ७०/८० क्विन्टल हुने स्थानीय बताउँछन् । यसरी गाना निकाल्दा सेतोचिनी लोप हुने जोखिम छ । विगतमा जथाभावी संकलन गर्दा पाटनमा पाइने भुत्ले, धुपजरी, कटुको, पाँचऔंले, पदमचाल्नो, जटामासी, निरमासी, सुनमासीलगायत जडीबुटी लोप भएको स्थानीयले जनाए । स्थानीयका अनुसार चोरीनिकासी भएको जडीबुटी जुम्ला हुँदै नेपालगन्ज जाने गरेको छ । डिभिजन वन कार्यालय जाजरकोटले ५६ हजार किलोभन्दा बढी सेतोचिनी संकलन इजाजत दिन नमिल्ने नेपालीले बताए ।

के हो सेतोचिनी ?

सेतोचिनी उच्च लेकाली भूभागमा पाइने र जमिनमुनि गाना लाग्ने मूल्यवान् जडीबुटी हो । यसलाई स्थानीय भाषामा खिरौलो भनिन्छ । यसका सखरखण्डका जस्तै गाना हुन्छन् । ती गाना पकाएर र सुकाएर बिक्री गरिन्छ । चीनलगायत देशमा यसलाई औषधिका रूपमा प्रयोग गरिन्छ ।

कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः   October 25, 2018 at 5:31 pm 


  • प्रतिक्रिया दिनुहोस्