मुख्यमन्त्रीले भने– दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब नसर्नेगरि तोक्नुहोला

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुदको मिति अब नसर्ने गरी तोक्न संघीय सरकारलाई सुझाव दिएका छन् । दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताका सन्दर्भमा छलफल गर्न बिहीवार सुर्खेत पुगेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँगको भेटमा उनले प्रदेश सरकारका कारणले प्रतियोगिता प्रभावित नहुने बताए । पटक पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा त्यसले नकारात्मक सन्देश गएको भन्दै मुख्यमन्त्री कँडेलले अब त्यस्तो गल्ती नदोहो¥याउन सुझाएका हुन् ।

खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनको पाटोमा सबै प्रकारको भूमिका निर्वाह गर्न कर्णाली सरकार प्रतिवद्ध रहेको उनले बताए । ‘हाम्रो तर्फबाट प्रतिबद्व छौं, त्यहीअनुसार तयारी पनि गरिरहेकै अवस्था छ, तर आयोजक तपाईंहरू हो, अब पनि मिति तोक्दै खेल नहुने भए अहिले नै विचार गरेर मिति तोक्नुहोला,’ उनले भने । प्रतियोगिताको मिति तोक्दा संघ र प्रदेशको जिम्मेवारी प्रष्ट खुलाउन पनि उनले आग्रह गरे । मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्ने नाममा यस अघि भएका कमजोरी दोहोरिन नदिनेतर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । ‘केही दिन अघि तपाईंहरूलाई प्रधानमन्त्रीज्यूले समेत प्रतियोगिताको मिति नसर्ने गरि काम गर्नुस् भनेर निर्देशन दिनुभएको रहेछ, हाम्रो स्प्रिड पनि त्यही हो’, उनले भने, ‘पटक पटक मिति सार्ने कामले प्रतियोगितालाई अन्यौल बनाएको छ ।’

मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्नेतर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएकाले प्रदेश खेलकुद परिषद्का रिक्त पदहरूमा नियुक्त गर्न छलफल थालिएको र रंगशालालगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने बताए । युवा तथा खेलकुदमन्त्री चौधरीले प्रतियोगिताका लागि अब मिति नसर्ने गरि तयारी भइरहेकाले त्यसमा ढुक्क हुन आग्रह गरे । छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री राजीवबिक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी लगायत सहभागी थिए ।

प्रकाशित मितिः   August 8, 2025 at 6:08 am 


  • प्रतिक्रिया दिनुहोस्