काठमाडौंः श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ बनाउने सहमति भएको हो । बिहीवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा उक्त सहमति भएको मन्त्रालयले जनाएको छ ।
श्रम ऐन, २०७४ को दफा १०७ मा प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिक न्यूनतम पारिश्रमिक १७ हजार ३०० थियो । साउन १ गतेदेखि लागू हुने गरी भएको सहमतिअनुसार अब मासिक आधारभूत पारिश्रमिक १२ हजार १७० रुपैयाँ र महङ्गी भत्ता सात हजार ३८० रुपैयाँ हुनेछ ।
मन्त्रालयका अनुसार श्रमिकले दैनिक आधारभूत पारिश्रमिक ४७० र महङ्गी भत्ता २८४ रुपैयाँ प्राप्त गर्नेछन् भने प्रतिघण्टा आधारभूत पारिश्रमिक ६३ र महङ्गी भत्ता ३८ रुपैयाँ हुनेछ । आंशिक समयमा मात्र काम गर्ने कामदारको हकमा प्रतिघण्टा न्यूनतम पारिश्रमिक १०७ रुपैयाँ हुने सहमति भएको छ । उक्त सहमति चिया बगान बाहेकमा श्रमिकको हकमा लागू हुने मन्त्रालयको भनाइ छ ।
प्रकाशित मितिः July 18, 2025 at 6:57 am













कर्मसञ्चार । २०८२ साउन २ गते शुक्रवार