
सुर्खेतः दैलेखको गुराँस गाउँपालिकामा डिजिटल प्रणाली लागू गरिएको छ । पालिकाले नेपाल टेलिकमको सहकार्यमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरू गरेको हो । डिजिटल प्रणालीबाट सेवा प्रवाहको काम थालेपछि अब सेवाग्राहीले एउटै कामका लागि फाइल लिएर कोठा कोठा चाहार्नुपर्ने झन्झट हटेको छ ।
डिजिटल प्रणाली लागू भएसँगै सेवाग्राहीले एउटा शाखामा फाइल पेश गरेपछि सम्बन्धित शाखाले अनलाइनबाटै काम अघि बढाउनेछन् । हाल गुँरासमा डिजिटल ईहाजिरी, अनलाइन सिफारिस, अनलाइन योजना व्यवस्थापन, नमस्ते गुराँस नामक अलाइन गुनासो प्रणाली सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले डिजिटल गाउँपालिकाका लागि आवश्यक पूर्वाधार निर्माणलाई तिव्रता दिएको बताए । उनी भन्छन्, ‘पेपरलेस कार्यालय बनाउने योजनाका साथ कामहरू भइरहेका छन् ।’ गाउँपालिकालाई पूर्ण डिजिटल बनाउने योजना अन्तर्गत डिजिटल सेवा प्रवाह सुरू गरिएको उनको भनाइ छ । पालिकाले अनलाइन नागरिकता प्रणाली, अपांग परिचय पत्र, गुराँस डाटा सेन्टर र आइटी पार्क, गुराँस आइपीएस, इलेक्ट्रोनिक्स सुपर हाइवे निर्माणका लागि आवश्यक परामर्श गरिरहेको जनाएको छ ।
अहिले गाउँपालिका र टेलिकम प्रादेशिक कार्यालयबीच भएको समझदारी पत्रअनुसार फोरजी र फाइवर इन्टरनेट विस्तार गरिएको छ । टेलिकम कर्णाली प्रदेश कार्यालयका प्रमुख डा.कमल लामिछानेले गाउँपालिका र टेलिकमको सहकार्यबाट गुराँस गाउँपालिकालाई नमूना डिजिटल गाउँपालिका निर्माण गरिने दाबी गरे । डिजिटल गाउँपालिकाको शुभारम्भ नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन् ।
प्रकाशित मितिः May 17, 2025 at 9:34 am


कर्मसञ्चार । २०८२ जेष्ठ ३ गते शनिवार