देशभर २३ प्रतिशत, कर्णालीमा ५१ प्रतिशत रोपाइँ सकियो

सुर्खेत, २६ असार ।
देशभर हालसम्म २३ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । यो वर्ष समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ ढिला भएको हो । कृषि विभागका अनुसार रोपाइँयोग्य १३ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा असार अन्तिम सातासम्म तीन लाख २५ हजार हेक्टरमा मात्रै रोपाइँ भएको छ ।
गतवर्ष यसै समयमा ५२ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको भन्दा २९ प्रतिशत कम रोपाईं भएको छ । पर्याप्त वर्षा नहुँदा रोपाईं हुन नसकेको विभागले जनाएको छ ।
नेपालमा जेठ अन्तिमदेखि भदौ पहिलो हप्तासम्म समेत रोपाइँ हुने गरेको छ । प्रदेशगत रुपमा हेर्दा सबै भन्दा कम प्रदेश २ मा १० प्रतिशत मात्रै रोपाइँ भएको छ । कम धान उत्पादन हुने कर्णाली प्रदेशमा ५१ प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै उच्च पहाडमा ३४, मध्यपहाडमा ३१ र तराईमा २० प्रतिशत रोपाइँ भएको छ ।
प्रदेश १ मा १८ प्रतिशत रोपाइँ भएको छ भने प्रदेश ३ मा २० प्रतिशत, गण्डकी प्रदेशमा २८ प्रतिशत, प्रदेश ५ मा २९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४४ प्रतिशत धान रोपाइँ भएको विभाको तथ्यांकमा उल्लेख छ । अझै पनि मनसुन सक्रिय नहुँदा तराईका अधिकांश जिल्लामा रोपाइँ हुन नसकेको विभागले जनाएको छ । नेपालको अधिकांश रोपाईं मनसुनमा आधारित छ ।

अहिले धान रोपाइँ हुने जमिनमध्ये ६० प्रतिशत क्षेत्रमा सिचाईं सुविधा पुगेको छैन। ४० प्रतिशतमा मात्रै यस्तो सुविधा रहेको विभागले जानकारी दिएको छ।

प्रकाशित मितिः   July 11, 2019 at 2:20 pm 


  • प्रतिक्रिया दिनुहोस्