सुर्खेत उद्योग वाणिज्य संघका सदस्यलाई पाँच लाखको बिमा

सुर्खेतः सुर्खेत उद्योग वाणिज्य संघले साधारण सदस्यहरूको लागि जीवन तथा दुर्घटना बिमा कार्यक्रम लागू गरेको छ । संघको बुधवार बसेको कार्यसमिति बैठकले आफ्ना सदस्यहरूको जीवन तथा दुर्घटनाका लागि पाँच लाख रूपैयाँसम्मको बिमा गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षदेखि नै लागू हुने गरी बिमा कार्यक्रम सुरु गरिएको हो ।
पहिलो चरणमा सबैभन्दा पहिला सदस्यता नवीकरण गर्ने एक सय ५० जना सदस्यको बीमा गरिनेछ । बुधवार नै सदस्यता नवीकरण गरेका नन्दबहादुर शाहीको जीवन बिमा गरेर अभियानको सुरुवात गरिएको छ । ठूलो रकम (प्रिमियम) तिरेर व्यक्तिगत रूपमा बीमा गर्न नसक्ने साना तथा मझौला व्यवसायीहरूलाई यसले ठूलो राहत हुने संघको अपेक्षा छ । संघमा आवद्ध हुने सदस्यलाई संरक्षण गर्ने उद्देश्यले बिमा कार्यक्रम लागू गरिएको अध्यक्ष हर्षविक्रम खड्काले बताए ।
परीक्षणकालको रूपमा संस्थाले पहिलो वर्ष एक सय ५० जनाको मात्र बिमा गराए पनि अभियानको प्रभाव र सफलता हेरेर आगामी वर्षमा बिमाको दायरा र संख्या पनि बढाउँदै लगिने जनाइएको छ । संघमा आवधिक रूपमा सदस्यता नविकरण गर्ने सदस्यको निधन भएमा विमावापतको पाँच लाख रूपैयाँका साथै पार्थिव शरीर व्यवस्थापन तथा अन्तिम संस्कार खर्चवापत १० हजारदेखि ५० हजारसम्म प्रदान गरिनेछ । त्यस्तै, कुनै कारणवश घटना–दुर्घटनामा परी शारिरीक अपाङ्गता भएको अवस्थामा पनि स्वास्थ्य अवस्था हेरेर बिमाङ्कको दश प्रतिशतदेखि शतप्रतिशतसम्म रकम पाउनेछन् ।

प्रकाशित मितिः   August 7, 2025 at 4:50 pm 


  • प्रतिक्रिया दिनुहोस्