विधान मस्यौदामाथि सुझाव लिन कांग्रेस नेता सुर्खेतमा

सुर्खेत, ७ असोज ।
नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदामाथि सुझाव लिन दुई जना केन्द्रीय सदस्य सुर्खेत पठाएको छ । कर्णाली प्रदेशस्तरीय सुझाव संकलनका लागि केन्द्रीय सदस्यद्धय मानबहादुर विश्वकर्मा र प्रदीप पौडेलसहितको टोली सुर्खेत आइपुगेको हो । टोलीले सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विधान मस्यौदामाथि सुझाव संकलन गर्नेछ ।

आइतवार कांग्रेस पार्टी कार्यालय सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेता विश्वकर्माले संविधानको ढाँचा अनुरुप कांग्रेसले पनि आफ्नो विधान संशोधन गर्नका लागि बनेको मस्यौमा अहिले प्रदेशस्तरीय सुझाव संकलन थालेको बताए । उनले प्रदेशमा संकलन गरिएका सुझावहरुलाई मस्यौदा समिति मा लगिने र त्यहाँ पनि छलफल गरी एकत्रित गराएर आगामी मंसिर ५ देखि ९ गतेसम्म हुने महासमिति भेलामा प्रस्तुत गरिने उल्लेख गरे ।

कांग्रेसले सातै प्रदेशबाट मस्यौदा माथि सुझाव संकलन गरी दसैं तिहारको वीचमा केन्द्रीय समिति बैठक र मंसिरमा हुने महासमिति भेलामा प्रस्तुत गर्नेछ ।

उनका अनुसार सुझाव संकलन कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु, महासमिति प्रतिनिधिहिरु, सांसदहरु, पूर्व सांसदहरु र जनवर्गीय संगठनका प्रमुखहरु सहभागी हुनेछन् । उनले पार्टी तयार गरेको मस्यौदा समितिमाथि विभिन्न समूह बनाएर व्यापक छलफल गरी सुझाव संकलन गरिने बताए ।

सातै प्रदेशबाट मस्यौदा माथि सुझाव संकलन गरिने दसैं तिहारको वीचमा केन्द्रीय समिति बैठकमा त्यो प्रस्तुत गरी मंसिरमा हुने महासमिति भेलामा प्रस्तुत गरिने उनको भनाइ छ । विधानमा धेरैभन्दा धेरैको सहभागिता र सुझाव होस् भनेर प्रदेश स्तरमा सुझाव संकलन गरिएको उनले बताए ।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले अव बन्ने कांग्रेसको विधान सवैभन्दा लोकतान्त्रिक, सवैभन्दा समावेशी हुने दावी गरे । उनले सवै तहमा एक तिहाई महिला सहभागिता हुने, केन्द्रीय सदस्य र पदाधिकारीहरुको आकार बढ्ने, तहहरु अधिकार सम्पन्न हुने, प्रदेश समितिहरु पनि अधिकार सम्पन्न बन्ने जिकिर गरे ।

अहिले पनि अन्य दलको भन्दा कांग्रेसको विधान लोकतान्त्रिक भएको र नयाँ बन्ने विधान पनि थप लोकतान्त्रिक हुने उनको भनाइ छ । कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सुझाव संकलनका लागि कर्णाली प्रदेशबाट करिव दुई जना नेताहरुको उपस्थिति रहने जानकारी दिए । उनले कार्यक्रमको समापनमा यहाँबाट दिइएका सुझावहरु सार्वजनिक गरिने बताए ।

प्रकाशित मितिः   September 23, 2018 at 6:56 pm 


  • प्रतिक्रिया दिनुहोस्