
मुलुकको विकास र समृद्धि नेकपा (एमाले) को विचार, नीति तथा नेतृत्वबाट मात्रै सम्भव छ । देशलाई समृद्धिको मार्गमा अघि बढाउने सवालमा एमाले सरकारका समयमा भएको विकास र एमालेका जनप्रतिनिधिले नेतृत्व गरेका प्रदेश सरकार तथा स्थानीय तहहरूको प्रगति हेर्दा पनि सहजै पुष्टि हुन्छ । संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्दै मुलुकलाई सुशासन एवम् विकासको बाटोमा अगाडि बढाउन यसकारण पनि एमालेको नीति र नेतृत्व अपरिहार्य बनेको छ । एमालेको नीति, विचार र अडानका कारण मुलुक अहिले सही बाटोमा हिँडिरहेको छ । एमाले जनताले आश र भरोसा गरेको पार्टी हो । एमालेकै नेतृत्वमा संविधान बन्यो । देशमा विकास निर्माणले गति लियो । देशले नयाँ नक्सा पायो अनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले ठाडो शिर बनाउन पाएको छ । खासगरी, मुलुकको सार्वभौसत्ता र राष्ट्रियताको रक्षाका निम्ति एमाले दृढतापूर्वक उभिँदै आएको छ ।
हाम्रो पार्टीले अहिले नेपाली काँग्रेससँग मिलेर सत्ता सहकार्य गरिरहेको छ । राष्ट्रिय राजनीतिमा एमालेको नेतृत्वदायी भूमिका फेरि एकपटक स्थापित भएको छ । काँग्रेससँगको सत्ता सहकार्यबाट जनतामा अलिकति भए पनि आशा र भरोसा पुनर्जागृत भएको देखिन्छ । यतिबेला सरकारको नेतृत्व गरिँरहदा हाम्रो पार्टीले आफ्नो कुनै स्वार्थलाई केन्द्रमा राखेको छैन । देशको स्वार्थ नै हाम्रो पार्टीको पनि स्वार्थ हो । एमालेको ध्यान विकास र सुशासनमा केन्द्रित छ । हाम्रो मुख्य लक्ष्य नै देश र जनताको समृद्धि हो । दिगो विकासको माध्यमबाट देश र जनताको समृद्धि गर्ने सङ्कल्प बोकेर एमाले अगाडि बढिरहेको छ । सूचना प्रविधिको विकास, कृषिमा आधुनिकीकरण, उद्योग क्षेत्रमा लगानीको वातावरण, पर्यटन तथा प्राकृतिक सम्पदाको उपयोग गरी देश र जनताको समृद्धि गर्ने गन्तव्य एमालेको रहेको छ ।
एमालेको ‘रोडम्याप’
हाम्रो पार्टी नेकपा (एमाले) ले आगामी चुनाव २०८४ पछि एकल बहुमतको सरकार बनाउने लक्ष्य लिएर अहिले विभिन्न चरणका अभियानहरू सञ्चालन गरिरहेको छ । पार्टीको अबको अभियान भनेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ हो । यसअघि सञ्चालन गरिएका ‘मिसन ग्रासरुट’, ‘मध्य पहाडी संकल्प यात्रा’ र वडा तथा टोल केन्द्रित संगठन सुदृढीकरण ‘जरा अभियान’ को अनुभवका आधारमा पार्टीले निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई तिव्रताका साथ अघि बढाएको छ । निर्णायक राष्ट्रिय शक्ति बनाउन वार्षिक कार्ययोजनासहित पार्टी अघि बढिसकेको अवस्था छ । यो अभियानको उद्देश्य आगामी चुनाव २०८४ बाट एमालेलाई पहिलो र बलियो शक्ति बनाउनु हो ।
संविधानसभामार्फत संविधान बनेपछि पनि मुलुकमा एकल बलियो राजनीतिक शक्ति निर्माण हुन सकेन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि सम्पन्न दुईवटा निर्वाचनले पनि स्थिर सरकार दिन सकेन । मुलुकमा राजनीतिक स्थायित्व छैन । बाह्यहस्तक्षेप बढिरहेको छ । अर्थतन्त्र र विकासले अपेक्षित रूपमा गति लिन सकिरहेको छैन । सुशासन र भ्रष्टचार प्रमुख चुनौती बनेको छ । यसर्थ, नेपालको आधारभूत वर्गसँग एकतावद्घ भइ एमालेले बलियो राष्ट्रिय शक्ति बनाउनुपर्छ । सिद्धान्त र नीतिमा एमाले अब्बल छ । यसलाई कार्यान्वयन गर्न जनआधारित कार्यकर्ता निर्माण र परिचालन गर्नुपर्ने हुन्छ । जनआधारित कार्यकर्ता भनेको पार्टी र जनताबीचको सेतु हो, जसले समाजको रूपान्तरण तथा जनताको हित सुनिश्चित गर्दछ । पार्टीलाई जनताको विश्वासमा आधारित संगठन बनाउँदै समाज परिवर्तन र विकासको नेतृत्व गर्न सक्षम हुन्छ ।
‘मिसन ग्रासरुट’, ‘मध्य पहाडी संकल्प यात्रा’ र वडा तथा टोल केन्द्रित संगठन सुदृढीकरण ‘जरा अभियान’ को अनुभवका आधारमा पार्टीले निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई तिव्रताका साथ अघि बढाएको छ ।
पार्टीले आगामी वर्ष २०८२ भित्रै १० लाख पार्टी सदस्य बनाउने लक्ष्य लिएको छ । दशौं राष्ट्रिय महाधिवेशनपछि जोड दिएर सञ्चालन भइरहेको सदस्यता नवीकरण र नयाँ वितरण अभियानलाई १० लाख बनाउने लक्ष्य लिइएको हो । वडामा कुल मतदाताको ३ प्रतिशत र पालिका तथा जिल्लामा कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउँदा १० लाखको योजना पूरा हुने एमालेको योजना छ । यसक्रममा नयाँ सदस्यलाई पार्टीको विचारबाट प्रशिक्षितसमेत गरिँदै लगिने योजना छ । पार्टीलाई बलियो बनाउन पारदर्शी विधिबाट नियमित अधिवेशनमा जोड दिँदै अधिवेशनबारे व्यवस्थित कार्यविधि बनाएर अघि बढ्ने गरी पार्टीले योजना बनाएको छ ।
त्यस्तै, हाम्रो पार्टीले भूमिकाविहीनलाई जिम्मेवारी दिने, पदाधिकारीको पनि मूल्यांकन गर्ने, संस्थागत निर्णयमा जोड दिने, कार्यकर्तालाई तहअनुसारका नियमित प्रशिक्षण दिएर प्रशिक्षित बनाउने, सरकार र जनप्रतिनिधिको परिचालन जोड दिने, चुस्त कार्यालयसँगै प्रभावकारी प्रचार शैली अपनाउने योजनासहित पार्टी अघि बढेको छ । पार्टीले बलियो कोष र त्यसको प्रभावकारी परिचालन, नेताहरुको सरल जीवन एवम् उच्च नैतिकतालाई बढावा दिँदै जनताको हितलाई प्राथमिकतामा राखेको छ । एमालेले लिएका नीति र कार्यक्रमको पूर्णरुपमा कार्यान्वयन भए एमालेको मात्र होइन, नेपाल र नेपालीको भाग्य एवम् भविष्य निर्धारण हुनेछ । एमालेले परिकल्पना गरेअनुरूपको समाजवादी व्यवस्थाको स्थापना अलि टाढाजस्तो देखिए पनि राजनीतिक कोर्स भने त्यही दिशातर्फ अघि बढिरहेको छ । पाँचौँ महाधिवेशनले जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यक्रम र नवौँ महाधिवेशनबाट सिद्धान्तकै रूपमा विकास गरेदेखि वर्तमानसम्म आइपुग्दा अनेकौँ आरोह–अवरोहबीच देशको मुख्य राजनीतिक शक्तिका रूपमा एमाले स्थापित हुन पुगेको छ । अबका दिनमा एमालेलाई थप अनुशासित, सुदृढ र एकताबद्ध पार्टी बनाएर मुलुकमा देखिएका चुनौतीहरूको सामना गर्दै समृद्ध नेपालको सपना पूरा गर्न म सम्पूर्ण पार्टीपंक्तिलाई यसै लेखमार्फत अपिलसमेत गर्दछु ।
साझा सङ्कल्प र एकता
नेपालको ऐतिहासिक पृष्ठभूमिमा हेर्दा, देशरक्षा र जनताको नाममा भएका संघर्षहरूले राष्ट्र निर्माणको सपना साकार गर्न असंख्य बलिदान मागेको देखिन्छ । यी बलिदानको मूल्यलाई सम्मान गर्दै हामीले अहिलेको सन्दर्भमा शान्ति, स्थायित्व र सामाजिक न्याय सुनिश्चित गर्ने दिशामा ध्यान दिनुपर्ने छ । मूलतः मुलुकमा विद्यमान सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएर विकास र समृद्धिका लागि हातेमालो गर्नुपर्ने अबको अवस्था हो । वैचारिक मतभेद भएपनि लक्ष्यमा एकरूपता हुनु अहिलेको आवश्यकता हो । आर्थिक न्याय, सामाजिक न्याय र राजनीतिक न्यायको सुनिश्चितता हाम्रो साझा लक्ष्य बन्नुपर्दछ ।
राष्ट्रको समृद्धि र जनताको कल्याणको साझा सपना साकार गर्न दलहरूले राजनीतिक, आर्थिक र सामाजिक दृष्टिकोणलाई एकीकृत गर्दै अघि बढ्नुपर्ने छ । विचारमा मतभेद स्वाभाविक भएपनि, लक्ष्यमा एकता आवश्यक छ । निर्माण र शान्तिको अनुभूति सबै नागरिकले गर्न पाउनुपर्छ । त्यसका लागि सरकार, राजनीतिक नेतृत्व र समाजका सबै तहले आपसमा सहकार्य गरी न्याय र विकासको भावना स्थापित गर्नुपर्ने हुन्छ । राजनीतिक स्थायित्व कायम गर्न तथा कमजोर आर्थिक अवस्थालाई सुधार गर्न मुलुकका सबै पार्टी मिलेर अगाडि बढ्नुको विकल्प छैन । अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउन लोकतान्त्रिक पार्टीको भूमिका महत्वपूर्ण हुनेभएकाले लोकतन्त्र प्राप्तिपछि भएका विकासका काम र संविधानबाट प्राप्त उपलब्धिलाई एकताबद्ध भएर जनतामाझ लैजान जरूरी छ ।
मतभेद र संघर्षले सधैं विनाश निम्त्याउँछ, तर सहमति र सहकार्यले मात्र देशलाई शान्ति तथा समृद्धिको मार्गतर्फ लैजान सक्छ । अबको समय साझा उद्देश्यका लागि काम गर्ने हो, जहाँ हरेक नेपालीले आफूलाई न्यायपूर्ण समाजको हिस्सा महसुस गर्न सकून् । राजनीतिक दलहरू भनेका राज्यसत्ता प्राप्तिको लागि गठन हुन्छन् । राज्यसत्ता प्राप्त गर्न संगठन र जनपरिचालन आवश्यक हुन्छ । जन निर्वाचनमार्फत सरकारमा पुग्नु र जनसेवा गर्नु पार्टीहरूको मुख्य काम हो । राष्ट्रिय हितलाई केन्द्रमा राख्ने तथा समाजवादी सिद्धान्तअनुसार योजना कार्यान्वयन गर्न सके राजनीतिक लक्ष्य पुरा हुनेछ । –लेखक नेकपा (एमाले) सुर्खेतका अध्यक्ष हुन् ।
प्रकाशित मितिः July 24, 2025 at 3:37 pm























कर्मसञ्चार । २०८२ साउन ८ गते बिहीवार