ढकालको ‘डोली चढियो’

सुर्खेत, २१ साउन ।
तीज गीतको सौन्दर्य हराउँदै गएका बेला हरितालिका तीजलाई लक्षित गरेर युवा कलाकार विशाल ढकालले समकालीन नेपाली समाजको अवस्था चित्रित गर्ने खालको तीज गीत ‘डोली चढियो’ सार्वजनिक गरेका छन् । सिंगारो म्युजिक प्रा.लि.को प्रस्तुतीमा सर्जक ढकालले डोली चढियो बोलको नयाँ तीज गीत बजारमा ल्याएका हुन् । गीतमा ढकालकै लय÷शब्द रहेको छ भने चर्चित गायिका टिका पुनले स्वर दिएकी छन् । मौलिक लोक संस्कृतिलाई संरक्षण गर्ने हेतुले नयाँ गीत सार्वजनिक गरेको सिंगारो म्युजिक प्रा.लि.का प्रवन्ध निर्देशक समेत रहेका ढकालले जानकारी दिए । ‘तीज गीतले मूल बाटो बिराउन थालेको छ,’ ढकालले भने, ‘पहिलेका तीज गीतमा महिलाका कुण्ठित भावना बाहिर आउँथे । समाजको अवस्था चित्रित गर्थे तीज गीतले । तर, अहिले सस्तो र अभद्र मायाप्रेमको विषयले बढी ठाउँ पाउने गरेको छ ।’
नारीहरुको विशेष पर्व तीज मूल मर्मबाट विमुख हुँदै गएको बेला आफूले सांस्कृतिक, पारिवारिक र धार्मिक महत्व बोकेको तीज पर्वमा समाजको यथार्थता झल्कने गीत बजारमा ल्याएको ढकालले दाबी गरे । तीजको मर्मभित्र रहेर गीत तयार पारिएको उनको भनाइ छ । तीज गीतले मूल बाटो बिराउन थालेको प्रति उनले चिन्ता व्यक्त गरे ।
उक्त गीतको भिडियो कलाकार हरि विष्टले निर्देशन गरेका हुन् । चर्चित मोडल दिपाशा विसीको अभिनय रहेको भिडियोको नृत्य निर्देशकमा नन्दा बस्याल, छायाँकन राजु केसी, सम्पादनमा प्रबिन भट्ट, विशेष सहयोग कमल विष्ट र भिडियो सम्पादन बिपि फिल्मसले गरेको हो । ढकालले गत वर्ष तीजलाई लक्षित गरेर ‘भदौरे झरी’ बोलको गीत सार्वजनिक गरेको थिए ।

 

प्रकाशित मितिः   August 6, 2018 at 2:45 pm 


  • प्रतिक्रिया दिनुहोस्