
सुर्खेत, १९ पुस ।
सुर्खेतमा एक हजार ६ सय अपराधी फरार छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न आपराधिक क्रियाकलाप गरेर जिल्ला अदालत सुर्खेतबाट जेल सजाय पाई फरार रहेका अपराधीको खोजी अभियानलाई तीव्रता दिएको छ । मंसिरदेखि पुस महिनाको १८ गतेसम्म सुर्खेत प्रहरीले ४६ अपराधी पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुलाई जम्मा ४३ वर्ष २४ दिन जेल सजाय र रु २१ लाख ९३ हजार ८२२ जरिवाना असुलउपर गरी फैसला कार्यान्वयनमा सहयोग पु¥याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
‘फैसला कार्यान्वयन गर्ने नीतिअन्तर्गत एक महिनाको खोजीमा प्रहरीले ४६ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ’, प्रवक्ता क्षेत्रीले भने, ‘जिल्लामा एक हजार ६ सय अपराधी फरार रहेकाले खोजी अभियानलाई तीव्र पारेका छौँ ।’ अदालतबाट धेरै सजाय पाएका अपराधी भारत जाने गरेकाले उनीहरुलाई समात्न नसकिएको उनको भनाइ छ ।
फरार अपराधिमा कर्तव्य ज्यान मुद्दाका बढी छन् । वडा विभाजन गरेर फरारको सूची प्रत्येक प्रहरी चौकीमा पठाइएको बताउँदै प्रवक्ता क्षेत्रीले जतिसक्दो सुर्खेतलाई फरार अपराधी मुक्त जिल्ला बनाउने लक्ष्य लिएको जनाए ।
प्रकाशित मितिः January 3, 2019 at 6:11 pm













कर्मसञ्चार । २०७५ पुष १९ गते बिहीवार