एमाले सुर्खेतले गर्‍यो पुष्पलालको योगदानको सम्झना

सुर्खेतः नेकपा (एमाले) सुर्खेतले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवस मनाएको छ । आज (बुधवार) जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पण कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गरिएको हो ।
कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुष्पलालले नेपालको कम्युनिस्ट आन्दोलमा पुर्‍याएको योगदानको स्मरण गरे । उनले कम्युनिष्ट पार्टीका हरेक नेता कार्यकर्ताले पुष्पलालको विचार र जीवनशैलीको अनुसरण गर्नुपर्ने बताए । ‘पुष्पलालका अनुयायीहरुले उहाँले देखाएको बाटोमा हिँड्न सकेमात्र अहिलेको सन्दर्भमा कम्युनिस्ट आन्दोलन र मुलुकको समृद्धिका लागि योगदान गरेको ठहरिन्छ,’ उनले भने ।
यस्तै, एमाले नेता बालाराम शर्मा र बालकृष्ण विसीले पुष्पलालले देखाएको बाटो अहिले पनि सान्दर्भिक रहेको औल्याएका थिए । एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न तह र कमिटीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मितिः   July 23, 2025 at 4:07 pm 


  • प्रतिक्रिया दिनुहोस्