‘ज्ञानसँगै सीप र उद्यमशीलतामा जोड दिऔं’


सुर्खेत । बदलिँदो समयअनुसार शिक्षण सिकाइको पद्धति परिवर्तन गर्दै ज्ञानसँगै सीप र उद्यमशीलतामा जोड दिनुपर्ने कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले बताएका छन् । शुक्रबार वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको राष्ट्रिय शिक्षा दिवस–२०८३ लाई सम्बोधन गर्दै मन्त्री मल्लले शिक्षालाई रोजगारी र उत्पादनसँग जोड्नुपर्ने बताएका हुन् । उनले शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रुपमा मात्र लिन नहुने बताए । ‘विद्यार्थीले विद्यालयबाट प्राप्त गरेको ज्ञान र सीपलाई आफ्नो जीवन, समाज र उत्पादनसँग जोड्न सक्ने वातावरण निर्माण गर्नुपर्छ,’ उनले भने । प्रदेश सरकारले शिक्षाको गुणस्तर सुधारका कार्यक्रमलाई जोड दिँदै आएको बताउँदै उनले शैक्षिक पूर्वाधार विकास र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने औल्याए । मन्त्री मल्लले शिक्षा क्षेत्रका समस्या समाधान गर्न तीनवटै तहका सरकार र अन्य सरोकारवाला निकायको सहकार्यमा जोड दिनुपर्ने बताए ।
वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले शिक्षाको गुणस्तर सुधारका लागि सबैको हातेमालो आवश्यक रहेको बताइन् । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा उनले शैक्षिक विकासका लागि विद्यालयको व्यवस्थापनसँगै शिक्षक, अभिभावक र विद्यार्थीको भूमिकासमेत महत्वपूर्ण हुने बताएकी छन् । उनले नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाउँदै विद्यालयको आवश्यकता र विद्यार्थीको सिकाइ उपलब्धिका आधारमा कार्यक्रम सञ्चालन गर्दै आएको जनाइन् । नगर प्रमुख ढकालले गुणस्तरीय, व्यावहारिक र जीवनोपयोगी शिक्षाका लागि सबै क्षेत्रको निरन्तर सहकार्य आवश्यक रहेको बताइन् ।


यस्तै, वीरेन्द्रनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धीरेन्द्रप्रसाद शर्माले शिक्षा दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नगरी विद्यालयको सिकाइ उपलब्धि र शैक्षिक सुधारको समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । उनले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न शिक्षकको क्षमता विकास, नियमित अनुगमन तथा विद्यालय र अभिभावकबीचको समन्वय आवश्यक रहेको औल्याए ।
नगर शिक्षा समितिका सदस्य गंगाराम तिमिल्सेनाले विद्यालय सञ्चालनसँग सम्बन्धित व्यावहारिक समस्या समाधान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माणमा वीरेन्द्रनगर नगरपालिकाले महत्वपूर्ण काम गरेको जनाए । उनले निजी विद्यालयले शैक्षिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानलाई पनि राज्यले संस्थागत रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे ।


दिवसका अवसरमा नगरपालिकाले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने शिक्षक, विद्यार्थी, विद्यालय र पत्रकारहरूलाई पुरस्कारसहित सम्मान गरेको छ । शिक्षाका विषयमा निरन्तर कलम चलाउँदै आएका ८ जना पत्रकार सम्मानित भएका छन् । जसअनुसार केशव ढकाल, ललित बुढा, ईश्वरराज अधिकारी, दिपकजंग शाही, जगतदल जनाला वि.क., तृप्ती शाही, बिस्नप्रसाद प्रसाद न्यौपाने र चाँदनी कठायतलाई शिक्षा क्षेत्रका गतिविधि, समस्या, उपलब्धि तथा सुधारका विषयलाई सञ्चार माध्यममार्फत सार्वजनिक बहसमा ल्याउन योगदान पुर्‍याएको भन्दै नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

प्रकाशित मितिः   September 19, 2026 at 5:20 am 


  • प्रतिक्रिया दिनुहोस्