राप्रपाको मेची–महाकाली यात्राः छिन्चुमा कोणसभा, वीरेन्द्रनगरमा आमसभा

हिन्दुराष्ट्र मुख्य एजेन्डा

सुर्खेत, २१ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन फागुन १५ गतेदेखि मेची–महकाली यात्रा गरिरहेको छ । ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा फागुुन २३ गते सुर्खेत आइपुग्ने छ ।

सोही यात्रा अन्तर्गत सुर्खेतको छिन्चु र वीरेन्द्रननगरमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाको नेतृत्वमा पार्टीका अन्य नेताहरुको सहभागिता रहने राप्रपा कर्णाली प्रदेश संयोजक धनबहादुर बुढाले जानकारी दिए । उनका अनुसार २३ गते विहान छिन्चुमा कोणसभा र दिउँसो वीरेन्द्रनगरमा आमसभा गरिनेछ । पार्टीका शीर्ष नेता तथा विभिन्न धार्मिक गुरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउने उद्देश्यले उक्त यात्रा थालिएको राप्रपा सुर्खेतका अध्यक्ष मानबहादुर खड्काले दाबी गरे । ‘हामीलाई पद र सत्ता चाहिएको छैन’, उनले भने, ‘जनताको पक्षमा भएको राप्रपाको विचार र सिद्धान्त लिएर हामी जनताको बीचमा आएका छौं ।’ यात्राको मुख्य एजेण्डा भने हिन्दुराष्ट्र भएको उनले बताए ।

मेची–महाकाली (दुई हजार आठ सय किलोमिटरको यात्रामा) सम्बन्धित जिल्लाका संगठनले यात्राका क्रममा आवश्यक समन्वयन र सहयोग गर्ने तथा यात्रा अवधिभर विभिन्न शहरमा करीब २०० सभा गरिने भएको छ । उक्त यात्रा सकिएपछि यस किसिमको यात्रा बाँकी अन्य जिल्लामा समेत गरिने पार्टीले जनाएको छ ।

राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत जनतालाई जानकारी दिनुका साथै यज्ञ, हवन तथा अनुष्ठान पनि गरिने भएको छ । पार्टीले लिएको राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन र संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरिनुपर्ने आफ्ना राजनीतिक एजेण्डासमेत जनता माझ छलफल गराउने राप्रपाको कार्यक्रम छ ।

प्रकाशित मितिः   March 5, 2019 at 5:28 pm 


  • प्रतिक्रिया दिनुहोस्