बजेट–२०८२/८३

प्रदेश र स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब बजेट

सुर्खेतः संघ सरकारले प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत ५ खर्ब ८२ अर्ब ८३ करोड बजेट पठाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै राजस्व बाँडफाँट तथा अनुदानमार्फत प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणका रूपमा यो रकम जाने बताए । ‘वित्तीय समानीकरण अनुदानका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहका लागि ८८ अर्ब ९७ करोड हस्तान्तरण गरिनेछ,’ उनले भने, ‘ससर्त अनुदानतर्फ प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गरिएको छ ।’
प्रदेश र स्थानीय तहलाई पूर्वाधार आयोजना कार्यान्वयनका लागि समपूरक अनुदान उपलब्ध गराइने उनले जनाए । अर्थमन्त्री पौडोलले प्रदेशलाई ३ अर्ब २८ करोड र स्थानीय तहलाई १० अर्ब ६ करोड विनियोजन गरिएको बताए । विशेष अनुदानतर्फ प्रदेशका लागि तीन अर्ब २७ करोड र स्थानीय तहका लागि ९ अर्ब ७८ करोड विनियोजन गरिएको छ । ससर्त, विशेष र समपूरक अनुदान कार्यसम्पादनका आधारमा हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको पनि अर्थमन्त्री पौडेलले जनाए । बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि प्रदेश तथा स्थानीय तहमा राजस्व बाँडफाँटबाट १ खर्ब ६५ अर्ब हस्तान्तरण हुने अनुमानसमेत गरिएको बताए ।

प्रकाशित मितिः   May 29, 2025 at 4:58 pm 


  • प्रतिक्रिया दिनुहोस्