अछाम, ११ असोज ।
कमलबजार नगरपालिकामा रहेको विमानस्थल सञ्चालनमा नआउँदा यहाँका स्थानीय कष्टकर यात्रा गर्न बाध्य छन् । उनीहरू धुलाम्मे सडकमा गाडीको सकसपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
तत्कालीन विद्रोही नेकपा माओवादीले आक्रमण गरेपछि परीक्षण उडान समेत भर्न नपाउँदै २०५८ मा बन्द विमानस्थल सुचारु गराउन पहल भएको छैन । माओवादी आक्रमणमा रिपिटर टावर भत्किएको थियो ।
२०५१ देखि विमानस्थलको काम उपभोक्तामार्फत सुरु गरिएको थियो । काम अन्तिम चरणमा पुगेको बेला सशस्त्र द्वन्द्व सुरु भएपछि काम रोकिएको कमलबजार नगरपालिका प्रमुख ओमप्रकाश विष्टले बताए । ‘विमानस्थल जसरी पनि सञ्चालन गर्नुपर्छ भनेर ०५१ सालदेखि निरन्तर लागि रह्यांै, त्यतिखेर देशमा संक्रमणकाल सुरु भयो । ज्यान जोगाउन आफैं भाग्न बाध्य भयौं,’ उनले भने, ‘त्यो बीचमा हवाइ मैदान निर्माण, विमानस्थलका घर र टावर बनाउने काम सकिएको थियो । द्वन्द्वमा ती सबै संरचना ध्वस्त भए ।
उनका अनुसार ४ करोड ६३ लाख इस्टमेट भएको विमानस्थलमा तत्कालिन समयमा २ करोड ५० लाख खर्च भइसकेको थियो । अहिले कमलबजार र पञ्चदेवल विनायक नगरपालिका तथा ढकारी र तुर्माखाद गाउँपालिकाले विमानस्थल सञ्चालनका लागि ४ करोड छुट्याउने सहमति गरे पनि केन्द्र सरकारले स्थानीय तहले रकम छुट्याएर काम गर्न नसक्ने जवाफ दिएको नगरप्रमुख विष्टले बताए ।
‘विमानस्थल सञ्चालनको लागि मन्त्रालयलाई निवेदन दिन भनियो । हामीले त्यसै र्गयौ । तर पनि केन्द्र सरकारले कुनै वास्ता गरिदिएन,’ उनले गुनासो गरे, ‘स्थानीय तहबाट गर्नु पर्ने कामका लागि हामी जहिल्यै तयार छौं । दुर्गमका जनताको पिर मर्का केन्द्र सरकारले नबुझेको महसुस भएको छ ।’ ०६३ सालमा शान्ति सम्झौता भएपछि ध्वस्त विमानस्थल पुनस्निर्माणको पहल भएको थियो ।


कर्मसञ्चार । २०७५ असोज ११ गते बिहीवार