
सुर्खेतः कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्ष सुरू हुने दिन साउन १ गते नै मुख्यमन्त्रीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलसँग मन्त्रीहरू तथा प्रमुख सचिवले कार्यसम्पादन सम्झौता गरेका छन् । प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ मा सम्बन्धित मन्त्रालयलाई तोकिएको क्षेत्राधिकार भित्र रही कार्यसम्पादन गर्न तथा चालु आर्थिक वर्षको विनियोजित बजेटको नतिजामुखी कार्यान्वयनका लागि सम्झौता गरिएको हो ।
जिम्मेवारी र जवाफदेहितासहित मन्त्रालयका कामकारबाही थप प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गर्नु परेको मुख्यमन्त्री कँडेलले बताए । कार्यसम्पादन सम्झौतामा उल्लेखित विषयहरूलाई मन्त्रालयले वार्षिक क्यालेण्डर बनाएर लागू गर्नेछन् । त्यसका लागि मुख्यमन्त्री कँडेलले निर्देशनसमेत दिइसकेका छन् । कार्यसम्पादन सम्झौतामा मन्त्रीहरूले चालु आर्थिक वर्षमा गर्नुपर्ने कामहरू, कार्ययोजना तथा समयसीमालगायतका विषयहरू उल्लेख छन् । यसै सम्झौतालाई आधार बनाएर मन्त्रीहरूले सचिवहरूसँग परिणाम आउने गरी कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता गर्ने बताइएको छ । कार्यसम्पादन सम्झौताले प्रदेश सरकारका कामलाई छिटो, परिणाममुखी, प्रभावकारी र व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
प्रकाशित मितिः July 18, 2025 at 2:53 pm























कर्मसञ्चार । २०८२ साउन २ गते शुक्रवार