
सुर्खेतः वीरेन्द्रनगर नगरपालिका यतिबेला आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । नगरपालिकाले नीति, कार्यक्रम र बजेट निर्माणका लागि तयारी तिव्र बनाएको हो । प्रस्तावित नीति तथा कार्यक्रममा प्रारम्भिक छलफलहरू सकेको नगरले आन्तरिक तयारीसँगै आम नागरिकको रायसमेत मागेको छ । सार्वजनिक सेवा प्रवाह, नीति निर्माण तथा विकासका गतिविधिहरूलाई गुणस्तरीय एवम् प्रभावकारी बनाउन नगरवासीहरूको रचनात्मक सुझाव र सहयोगको अपेक्षा गरिएको नगर प्रमुख मोहनमाया ढकालले कर्मसञ्चारलाई बताइन् । ‘वीरेन्द्रनगरको समृद्धि र दिगो विकासका लागि नागरिकको अर्थपूर्ण सहभागिता र सहयोग अपरिहार्य छ,’ उनी भन्छिन्, ‘नीति तथा कार्यक्रम निर्माणमा आम नागरिकको सहभागिता होस् भन्ने हेतुले नै हामीले राय मागेको हो ।’
स्थानीय तहले असार १० गतेभित्रै नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । नगर प्रमुख ढकालका अनुसार वीरेन्द्रनगर नगरपालिकाले असार १० गते (मंगलवार) आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान नगरसभामा पेस गर्दैछ ।

नगरले नीति, कार्यक्रम र बजेटलाई नगरवासीहरूको साझा दस्ताबेज बनाउने उद्देश्यले सबैको अर्थपूर्ण सहभागिता खोजेको छ । त्यसका लागि नगरपालिकाले सूचना नै जारी गरेर राय–सुझाव मागेको हो । ‘आगामी आर्थिक वर्षमा नगरपालिकाले के–कस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दा राम्रो होला ? यस विषयमा यहाँहरूको रचनात्मक सुझावका लागि अनुरोध छ,’ नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।
नगरपालिकालाई सुझाव दिन नगर प्रमुख मोहनमाया ढकाल सचिवालयको फेसबुक पेजमा कमेन्ट वा हेलो मेयर टोल फ्री नम्बर १८१०५०५०००२५२ मार्फत सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।
प्रकाशित मितिः June 21, 2025 at 3:41 pm













कर्मसञ्चार । २०८२ असार ७ गते शनिवार