दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

कर्णालीको भविष्यप्रति जगायो आशा, आर्थिक रूपान्तरणको ढोका खुल्ने सम्भावना, देशले नै आर्थिक उन्नतिमा फड्को मार्ने अपेक्षा


सुर्खेतः दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ । चिनियाँ विज्ञ टोलीले त्यहाँ मिथेन ग्यासको भण्डार रहेको पत्ता लगाएको हो । चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन तथा चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि जमिन खनेर अध्ययन थालेका थिए । उक्त अध्ययनका लागि जलजलेमा चार हजार मिटर गहिराइसम्म खनिएको थियो ।
विज्ञ टोलीले दैलेखमा अन्वेषण तथा उत्खननका क्रममा पत्ता लागेको प्राकृतिक ग्याँसले नेपाललाई ५० वर्ष पुग्ने आकलनसहितको प्रारम्भिक रिपोर्ट सरकारलाई दिएको छ । जलजलेमा ड्रिल गरेको ठाउँबाट ११२ अर्ब घनमिटर ग्याँस रहेको अनुमान गरिएको र थप तीन स्थानमा ड्रिल गर्दा यसको मात्रा बढ्ने बताइएको छ । यो रिपोर्टले सरकारी अधिकारीहरू उत्साहित देखिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ग्याँस पुष्टि भएको र विस्तृत रिपोर्टपछि उत्पादन सुरू हुने बताएका छन् ।
यसअघिको प्रारम्भिक अध्ययनमा ग्याँस रहेको पत्ता लागेपनि त्यसको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमूना संकलन गरेर चीन लगिएको थियो । त्यहाँको ग्याँस व्यापारिक दृष्टिकोणले उपयुक्त छ कि छैन भन्ने पत्ता लगाउन पनि थप अध्ययन थालिएको थियो ।
‘अहिले प्रारम्भिक रूपमा जुन रिपोर्ट प्राप्त भएको छ, त्यसमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस छ भन्ने पुष्टि भएको छ’ मन्त्री भण्डारी भन्छन्, ‘यो मिथेन ग्याँस हो भन्ने छ ।’ मिथेन ग्याँस पेट्रोल–डिजेलको विकल्पमा राम्रो इन्धन मानिन्छ । मिथेन ग्याँसबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न र घरायसी प्रयोजनमा बत्ती बाल्न पनि सकिने विज्ञहरू बताउँछन् । यस्तै, मिथेन ग्याँसबाट हाइड्रोजन छुट्टाएर अमोनिया ग्याँस निकालेर मल कारखानामा पनि प्रयोग गर्न सकिन्छ ।
चिनियाँ प्राविधिक टोलीले विस्तृत रिपोर्ट बुझाएपछि ग्याँस उत्पादन प्रक्रिया सुरू हुने मन्त्री भण्डारीले बताए । उनकाअनुसार चिनियाँ टोलीले डिसेम्बर अन्तिममा विस्तृत विवरण दिने बताएका छन् । त्यसपछि मात्रै परीक्षणको रूपमा ग्याँस उत्पादन सुरू गर्ने योजना बनाइएको छ । उत्पादन परीक्षणका लागि ६५ अर्ब लागत अनुमान गरिएको छ ।
२०७२ सालमा भारतीय नाकाबन्दीका कारण ग्याँस र इन्धन आपूर्तिमा चरम संकट भएको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसैबेला नेपालमा पेट्रोलियम पदार्थ र ग्याँसको अध्ययन गर्न चीनलाई निम्तो दिएको थियो । चिनियाँ टोली नेपाल आएर विभिन्न सम्भाव्य पेट्रोलियम खानीहरूमा पुगी अध्ययनका लागि नमूना संकलन गरेको थियो । दैलेखका विभिन्न स्थानमा सदियौंदेखि आगोको ज्वाला बल्ने गरेको छ । स्थानीयले त्यसलाई दैवी शक्ति मानेर पूजा गर्दै आएका छन् ।
पछिल्लो समय विज्ञहरूले जमिन मुनि प्रज्ज्वलनशील ग्याँस भएको र त्यही बाहिर निस्किएर आगो बलेको पुष्टि गरेका छन् । दैलेखको श्रीस्थान, नाभिस्थान, धुलेश्वर र पादुका लगायतका क्षेत्रमा ग्यासको भण्डार रहेको आकलन छ । दैलेखमा पत्ता लागेको ग्याँसलाई व्यवसायिक प्रयोजनमा ल्याउन सके कर्णाली प्रदेशले मात्र नभइ देशले नै आर्थिक उन्नतिमा फड्को मार्ने अपेक्षा गरिएको छ । खासगरी यो रिपोर्टले आर्थिक रूपान्तरणको सम्भावनासँगै कर्णाली प्रदेशको भविष्यप्रति आशा जगाएको छ ।

प्रकाशित मितिः   June 19, 2025 at 2:44 pm 


  • प्रतिक्रिया दिनुहोस्