एकल पुरुषलाई मासिक एक हजार भत्ता !

बैतडी, १० भदौ ।
बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रु एक हजारका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले बताए ।
ओझाका अनुसार एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुने गरी भत्ताको व्यवस्था गरिएको हो । नगरपालिकाभित्र असहाय एकल पुरुषहरु पनि रहेकाले उनीहरुलाई बाँच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको उनले बताए ।
उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले रु १५ लाख छुट्याइएको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिए । अहिले नगरका नौवटै वडाका विधुरहरुको तथ्याङ्क सङ्कलनको काम शुरु गरिएको छ । एकल पुरुषको तथ्याङ्क सङ्कलन भइरहेको र सोही रकममध्ये अनाथ असहायलाई पनि केही सहयोग गर्ने नगरपालिकाले योजना बनाएको छ ।

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ । यसअघि नगरपालिकाले एचआईभी सङ्क्रमित, हेपाटाइटिस, क्यान्सरजस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत वितरण गरेको थियो ।

प्रकाशित मितिः   August 26, 2018 at 12:15 pm 


  • प्रतिक्रिया दिनुहोस्