काठमाडौँ, २ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले सरकारले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा यथास्थितिमा चिकित्सा शिक्षा विधेयक पेश गरे प्रतिवाद गर्ने निष्कर्ष निकालेको जनाएको छ ।
बैठकले माथेमा आयोगको भावना र मर्मविपरीतको विधेयक ल्याए संघीय संसद्सँगै सातै प्रदेशका प्रदेशसभामा पनि सोहीअनुसारको सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
पदाधिकारी बैठकमा बिहीबारदेखि शुरु हुने पार्टीको विरोधसभालाई प्रभावकारी र व्यवस्थित बनाउने सम्बन्धमा समेत छलफल भएको प्रवक्ता शर्माले बताए । काँग्रेसले सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन ३ गतेदेखि विरोधसभा गर्ने जनाएको छ ।
बैठकमा सभापति देउवाले भातृ संस्था नेपाल विद्यार्थी संघमा देखिएको विवाद तत्काल मिलाउन निर्देशन दिएका थिए । साथै पार्टीको विधान मस्यौदा समिति बनाउने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको बताउँदै उनले भने, “सम्भवतः भोलि नै ९ देखि ११ सदस्यीय विधान मस्यौदा समिति गठन हुनेछ ।”
काँग्रेसको गत वैशाख १६ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनःसंरचना मुताविक पार्टीको पुनःसंरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन समिति बनाउने निर्णय गरेको थियो ।
पार्टीका विभिन्न तहबाट रायसुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत कार्यका लागि अर्को महिना काँग्रेसको महासमिति बैठक बस्ने तयारी छ ।
प्रकाशित मितिः July 20, 2018 at 2:31 am























कर्म संचार । २०७५ साउन ४ गते शुक्रवार