सम्बन्धबिच्छेदका लागि १४ जना पुरुषले मुद्दा दर्ता गराएका छन्
वीरेन्द्रनगर, २२ भदौ ।
जिल्ला अदालत सुर्खेतमा तीन हप्तामा ३० वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । यही भदौ १ गतेदेखि नयाँ मुलुकी संहिता लागू भएको तिन हप्तामा सम्बन्धबिच्छेदका ३० वटा मुद्दा दर्ता भएका हुन् । १४ जना पुरुषले सम्बन्धबिच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् भने बाँकी १६ मुद्दा महिलाले दिएका हुन् ।
पहिले पुरुषले कहिलेकाहीँ मात्रै अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने गरेको जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रबहादुर मल्लको अनुभव छ । तर, नयाँ मुलुकी संहिता २०७४ लागू भएको तीन हप्तामा नै लगभग आधा संख्यामा पुरुषहरुले सम्वन्धविच्छेदका लागि मुद्दा दिएका छन् ।
जिल्ला अदालत सुर्खेतमा भदौं १ गतेदेखि २१ गतेसम्म जम्मा ६६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ३० वटा सम्बन्धविच्छेदका २५ वटा फौजदारी अभियोग र ११ वटा अन्य मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।
नयाँ मुलुकी संहिता लागू भएको दिनदेखि पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्न थालेका श्रेस्तेदार मल्ले बताए । पुरुषहरूले सम्पत्ति हिनामिना गरेको, आफू खुशी हिँड्ने गरेको, सम्पर्कमा नआएको दाबीसहित मुद्दा दर्ता गरिएका छन् । श्रेस्तेदार मल्लले नयाँ कानूनले पुरुषलाई सम्बन्धविच्छेद गर्न सहज बनाएको बताए । महिलाहरुले भने पुरानै प्रक्रिया र तरिकाले मुद्दा दर्ता गराइरहेका छन् । श्रीमानले खान लाउन नदिएको, घरेलु हिंसा गरेको जस्ता दाबीसहित महिलाले मुद्दा दर्ता गर्ने गरेका छन् ।
वैदेशिक रोजगारी नै सम्बन्धविच्छेदको ठूलो कारक रहेको देखिएको छ । श्रेस्तेदार मल्ललका अनुसार अहिले अदालतमा आएका मुद्दाको प्रकृति हेर्दा वैदेशिक रोजगारी नै प्रमुख कारकको रुपमा देखिएको छ ।













कर्मसञ्चार । २०७५ भाद्र २२ गते शुक्रवार