भू तथा जलाधार व्यवस्थापन कार्यालयद्वारा निःशुल्क बिरूवा वितरण

शहरी वृक्षारोपणमा आकर्षण बढ्दो

सुर्खेतः भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले विभिन्न प्रजातिका बिरूवा वितरण गर्न थालेको छ । हरेक वर्षजस्तै यसपटक पनि कार्यालयले आफ्नै नर्सरीमा उत्पादित झन्डै २२ हजार बिरूवा व्यक्ति, समूह र संघ–संस्थाहरूलाई निःशुल्क वितरण सुरू गरेको हो । भू–क्षय नियन्त्रण, हरियाली प्रबर्द्धन, बायो इन्जिनियरिङ र शहरी सौन्दर्यका लागि विभिन्न प्रजातिका बिरूवा उत्पादन गरी वितरण थालिएको कार्यालय प्रमुख शिखर चपाईले बताए ।
कार्यालयले यो वर्ष फलफूल तथा डालेघाँसका बिरूवा उत्पादन गरेको छ । उत्पादित बिरूवाहरू यतिबेला माग र आवश्यकताका आधारमा वितरण गर्ने कार्य भइरहेको हो । कार्यालयले भू–संरक्षण (बायो इन्जिनियरिङ)लाई प्राथमिकतामा राखेर बिरूवा उत्पादन तथा वितरण गरिरहेको छ । तर, पछिल्लो समय भने शहरी वृक्षारोपणमा आकर्षण बढेको छ । ‘पछिल्ला वर्षहरूमा शहरी सौन्दर्यका लागि वृक्षारोपण धेरै हुने गरेको छ,’ कार्यालय प्रमुख चपाईं भन्छन्, ‘तुलनात्मक रूपमा यस्ता बिरूवाहरूको माग कार्यालय र विद्यालयहरूबाट बढी आइरहेको छ ।’
कार्यालयले योवर्ष गुलमोहर, धुपी, कल्की, पारिजात, छतिवन, राजवृक्ष, बकाइनो, किमी, चिउरी, रिठ्ठा, अमला, हर्रो, बर्रो, सितल, अम्बा, कदम, लप्सी, तेजपात, मसलालगायत थुप्रै प्रजातिका गुणस्तरीय बिरूवा उत्पादन गरेको छ । मौसम एवम् भौगोलिक अनुकूलताका आधारमा बिरूवा रोपणका लागि सिफारिस गर्ने गरिएको छ ।
कार्यालयका अनुसार एउटा बिरूवा सरदर २० रुपैयाँ लागतमा तयार हुन्छ । विरूवा उत्पादनका लागि चालु आर्थिक वर्षमा १० लाख बजेट थियो । यसअघि ग्रामीण क्षेत्रका लागि बाँस र विभिन्न थरिका डालेघाँसका बिरूवा उत्पादन गरी वितरण गरिसकिएको छ । डालेघाँस र फलफूललगायतको वृक्षारोपणले भू–क्षय नियन्त्रण, पशुपालन, शहरी सौन्दर्यका साथै वातावरणको क्षेत्रमा ठूलो सहयोग पुग्ने कार्यालय प्रमुख चपाई बताउँछन् ।

प्रकाशित मितिः   June 22, 2025 at 8:57 pm 


  • प्रतिक्रिया दिनुहोस्