डिभी भर्न फास्ट ट्रयाकबाट २१ हजारले निकाले पासपोर्ट

काठमाडौं, १९ कात्तिक ।

सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि फारम भर्ने समय आज सकिँदैछ। डिभी खुलेको एक महिनामा २१ हजारभन्दा धेरैले फास्ट ट्रयाकबाट पासपोर्ट निकालेका छन्।

डिभी खुलेको दिनदेखि गत बिहिबारसम्म आएका ३८ हजार २ सय ७२ आवेदन मध्ये २१ हजार ३ सय ४० ले फास्ट ट्र्याकमा पासपोर्ट निकालेका राहदानी विभागका सूचना अधिकारी तिर्थराज अर्यालले जानकारी दिए।

सामान्यत: दैनिक ६ सयको हाराहारीमा आवेदन आउने भए पनि दशैंपछि आवेदन दिनेको संख्या आकासिएको उनले बताए। ‘हामीले ९ बजेदेखि आवेदन लिन्थौं, आवेदकको संख्या बढेपछि ७ बजेदेखि नै आवेदन लिन थाल्यौं,’ उनले  भने।

गत असोज १५ गते देखि डाइभर्सिटी भिसाका आवेदन फारम खुलेको थियो। यसपालि डिभी भर्दा पासपोर्ट नम्बर र पासपोर्टको एक्सपायर डेट अनिवार्य लेख्नु पर्ने हुँदा फास्ट ट्र्याकाम पासपोर्ट बनाउने बढेका हुन्।

प्रकाशित मितिः   November 5, 2019 at 8:36 pm 


  • प्रतिक्रिया दिनुहोस्