
सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले आइतवार राति प्रदेशसभामा बजेट सार्वजनिक गरेका हुन् । दलहरूबीच सहमति जुट्न ढिला भएपछि प्रदेशसभामा मध्यराति बजेट प्रस्तुत गरिएको हो ।
आगामी वर्षका लागि विनियोजित यो बजेट चालु आवको तुलनामा ५ प्रतिशतले बढी छ । सरकारले आगामी वर्षका लागि पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात ६०.५५ प्रतिशत र चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार अर्थात २३.६४ प्रतिशत विनियोजन गरेको छ ।
यस्तै, कर्णाली सरकारले वित्तीय व्यवस्थातर्फ रू.६१ करोड ५० लाख अर्थात १.८६ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रू. ४ अर्ब ९ करोड ९८ लाख ४१ हजार अर्थात १३.९५ प्रतिशत विनियोजन गरेको छ ।
सरकारले बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोतमा कर तथा राजस्वबाट ९६ करोड ७४ लाख ११ हजार र राजश्व बाँडफाँटबाट १० अर्ब २७ करोड ३० लाख तथा चालु आवको खर्च नभइ बचत हुने अनुमानित रू. ५ अर्ब ६९ करोड ६८ लाख ४४ हजार रुपैयाँ स्रोत अनुमान गरेको छ । त्यस्तै, समानीकरण अनुदानतर्फ १० अर्ब ५६ करोड ४ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब ४४ करोड ६० लाख, समपूरक अनुदानतर्फ ५३ करोड ९७ लाख र विशेष अनुदानतर्फ ४९ करोड ४६ लाख रुपैयाँको स्रोत अनुमान गरिएको छ ।
प्रकाशित मितिः June 16, 2025 at 10:03 am













कर्मसञ्चार । २०८२ असार २ गते सोमवार