
सुर्खेत, २५ कात्तिक ।
दैलेखकी जयन्ती थापाले आफ्नी छोरीको जन्मदिनमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् । थापाले छोरी सुजन चन्दको जन्मदिनको अवसर पारेर आईतबार वीरेन्द्रनगर–१२ पदमपुरस्थित जनजागृत प्राथमिक विद्यालयलाई एक लाखको चेक प्रदान गरी अक्षयकोष स्थापना गरेकी हुन् । थापा हाल अमेरिकामा बस्दै आएकी छन् ।
उक्त विद्यालयमा रहेका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शिक्षा आर्जनमा सहयोग पुग्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषको नाम जयन्तीकी आमा पार्वती र बुबा धर्मजंग थापाको नामबाट धर्म–पार्वती रहनेछ ।
छोरीको जन्मदिनमा शिक्षा क्षेत्रका लागि गरिएको यस कार्यले आफूलाई गौरवान्वित बनाएको र आफू निकै खुसी भएको जयन्तीका बुबा धर्मजंग थापाले बताए ।
विद्यालयका प्रधानाध्यापक ज्ञानुकुमारी सुवेदीले यो अक्षयकोषमा रहेको रकमले असहाय विद्यार्थीको शिक्षा प्राप्तिमा सहयोग पुग्ने उपेक्षा व्यक्त गरे ।
जयन्ती थापाले यसअघि पनि आफ्नो गृहजिल्ला दैलेखलगायत कर्णाली प्रदेशका विभिन्न जिल्लामा सामाजिक कामका लागि आर्थिक सहयोग गर्दै आएकी छन् ।


कर्मसञ्चार । २०७५ कार्तिक २५ गते आइतवार