अख्तियारको ‘स्टीङ अप्रेसन’मा २८ जना पक्राउ

सुर्खेत, १९ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले चार वर्षको अवधिमा २८ जनालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । कार्यालयको कार्यक्षेत्र कर्णाली प्रदेशका १० जिल्लाअन्तर्गत विभिन्न स्थानबाट आर्थिक वर्ष ०७१/०७२ देखि चालू आवको यो अवधिसम्म २८ जनालाई ‘स्टीङ अप्रेसन’ मार्फत पक्राउ गरिएको आयोग सुर्खेत कार्यालयका प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए ।

आयोगले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा प्रत्येक वर्ष सरदरमा ७ जना ‘स्टीङ अप्रेसन’ मा पर्ने गरेका छन् । आर्थिक वर्ष ०७१/७२ मा ९ जना, ०७२/७३ मा ११, ०७३/७४ मा ३, ०७४/७५ मा ४ र चालू आवमा १ जना सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।

कर्णाली प्रदेशको जिल्लागत तथ्याङ्क हेर्दा सुर्खेतका उजुरी सबैभन्दा बढी छन् भने डोल्पा कम उजुरी पर्ने जिल्लामा रहेको कार्यालयका सूचना अधिकारी मेघराज उपाध्यायले बताए । क्रमश उजुरी धेरै पर्नेमा दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, रुकुम (पश्चिम), सल्यान, मुगु छन् । चालु आवको चार महिनामा सुर्खेतका १०६ उजुरी परेका छन् भने सबैभन्दा कम डोल्पाका ६ वटा उजुरी परेको जनाइएको छ । आयोगको कार्यालयमा सबैभन्दा धेरै स्थानीय तह, शिक्षा, वन, स्वास्थ्य, खानेपानी, सडक लगायतसँग सम्बन्धित उजुरी पर्ने गरेका छन् ।

यसैबीच, आयोगको सुर्खेत कार्यालयले यही मंसिर २३ गतेदेखि ‘भ्रष्ट्राचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ को अवसरमा साताव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरिने जनाएको छ ।

प्रकाशित मितिः   December 5, 2018 at 4:38 pm 


  • प्रतिक्रिया दिनुहोस्