त्यो बराहताल, यो बराहताल !

बराहताल पहिले

सुर्खेत, २९ मंसिर ।
बराहताल मनमोहक थियो । सफा हुन्थ्यो । ठूलो र गहिरो थियो । डुबिने डरले स्थानीयले तालको छेउतिर मात्रै पौडी खेल्थे । हाँस, सारस जस्ता विभिन्न खालका चराहरू थिए । जंगलको बीचमा ताल भएकाले रूखबाट खस्ने पातपतिंगर तिनै चराले ओसारेर ताल किनारमा लैजान्थे ।

सुर्खेतको बराहताल गाउँपालिकामा अवस्थित बराहताल घना जंगलको बीचमा २० विगाह क्षेत्रफलमा फैलिएको छ । जिल्लाका मुख्य पर्यटकीय क्षेत्रमध्येको एक मानिने यस ताललाई सुर्खेतको ‘रारा ताल’ वा कर्णालीको दोस्रो रारा पनि भन्ने गरिँन्छ । यो ताल यतिबेला सुकेको छ । पानीको थोपा समेत छैन ।

बराहताल अहिले

बराहताल गाउँपालिका–४ तरंगाका लक्ष्मण थापा हप्तादिन अघि बराहताल पुगे । ६ वर्षअघि आफूले देखेको त्यो बराहताल सम्झिए र अहिलेको यो बराहताल देखेर निरास भए ।
२०७० मा बाल क्लवका साथीलाई लिएर उनी बराहताल पुगेका थिए । त्यहाँ उनीहरूले पौडी खेलेका थिए । ‘त्यतिबेला भेरी तर्दा डराएको थिइन तर यहाँ तालको छेउमै पौडी खेल्दा पनि साह्रै आत्तिएको हुँ,’ उनले भने, ‘अहिले यो ताल सुख्खा देख्दा साह्रै मन दुख्यो ।’ उनका अनुसार २ वर्षअघिसम्म पनि ताल पहिलेको जस्तै थियो ।

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पर्यटन प्रवद्र्धनका लागि भनेर केही दिन पहिले कर्णाली प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी लगायत करिब ४० जना बराह ताल पुगेका थिए । सबै निरास भएर फर्किए ।

किन सुक्यो ताल ? कसरी पुनःजिवित गराउन सकिन्छ ?

स्थानीय ओम महताराका अनुसार बराहताल यो बर्षको हिउँद सुरू भएसँगै सुख्खा बनेको हो । बराहताल गाउँपालिका–४ का वडा अध्यक्ष टेकबहादुर कठायतले २०७२ सालको भुकम्पका कारण ताल सुकेको हुन सक्ने बताए । ‘२०७२ सालमा आएको भुकम्पले तालको मुहानहरुलाई बिगारेको हुनसक्छ, त्यसपछि यो ताल घट्दै गएको थियो । अहिले सबै सुक्यो,’ कठायतले भने ।
तालसम्बन्धी अनुसन्धानकर्ता डा.नवराज केसीका अनुसार यो ताललाई आधुनिक तरिकाबाट पुनःउत्थान गर्न खोज्नु गलत हुन्छ । केसीले ताललाई पुनःउत्थान गर्न प्राकृतिक तरिकाबाटै अघि बढ्नुपर्नेमा जोड दिए । ‘ताल भनेको पानी होईन, माटो हो,’ उनले भने, ‘यो माटोलाई पानी सञ्चित गर्न सक्ने खालको बनाउने गरी लाग्नुपर्छ, त्यसपछि आपसेआफ पानी भरिन्छ । पानी ल्याएर हाल्ने खालको सोच्नुहुँदैन ।’ उनले ताल बारे पहिले बुझ्न जरूरी रहेको बताए ।

अनुसन्धानकर्ता डा. केसीका अनुसार, जंगलमा भएको बनमारा झारले वरपर अरू झार अथावा माटोलाई दलदल बनाएर पानी सञ्चित गर्न सघाउ पु¥याउने खालको झार उम्रन दिँदैन । त्यसले गर्दा पनि तालमा पानी सुकेको हो । अब यस्तो खालको झारलाई हटाउनुपर्छ । पानी सञ्चित गर्न सघाउ पुयाउने खालको बोटविरुवा उमार्ने गरी काम गर्नुपर्छ । ‘बर्षा याममा परेको पानी वरीपरी भएका पहाडहरुको बीचमा लेयरमा बस्छ, त्यो झरेर पनि तालमा आउँछ,’ उनले भने, ‘त्यो किन हरायो, जान्नु जरुरी छ ।’ बराहताल वरपर खनिएको बटोका कारण त्यस्तो लेयरमा सञ्चित पानी बीचमा रोकिएको हुन सक्ने केसीले बताए ।

कर्णाली प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले बराह तालको उत्थानका तीनै तहको सरकारको सहभागितामा कार्य योजना बनाएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले प्राकृतिक रुपमै पुनःउत्थान गर्नेगरी कार्य योजना बनाउने बताए ।

२०५६ मा पनि ताल सुकेको थियो

स्थानीयका अनुसार २०५६ सालमा पनि बराह तालमा पानी सुकेको थियो । त्यसबेला ‘बराह’ देवताको पुजा गरेपछि ताल पुनः भरिएको थियो । ‘२०५६ सालमा तालमा पानी एकाएक सुक्यो । त्यसबेला परम्परागत मान्यता अनुसार बराह देउताको पुजा गरेपछि फेरि पानी आयो । तालको छेउमा बराह देवताको एउटा मन्दिर छ । उक्त मन्दिर तालको पानी सुकेपछि पुजा गर्न बनाइएको हो । मन्दिर अहिले जीर्ण छ ।

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले तालको पुनःउत्थानका लागि तीनै तहका सरकारको एउटै योजनासहित कार्यक्रम बनाउनुपर्ने बताए । उनले संघीय, प्रदेश र स्थानीय सरकारबाट तालको संरक्षणको लागि छुट्याईने बजेटलाई एकत्रित गरेर एउटै खालको कार्यक्रममा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट ३१ किलोमिटर पश्चिम रहेको सुन्दर बराहताल संरक्षण र प्रचार अभावले ओझेलमा परेको छ । तालसम्म पुग्न मोटरबाटो छैन । भौतिक पूर्वाधार विकास र प्रचारकै अभावमा बराहताल ओझेलमा परेको स्थानीयको गुनासो छ ।

प्रकाशित मितिः   December 15, 2019 at 8:55 pm 


  • प्रतिक्रिया दिनुहोस्