

सुर्खेतः वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयले सार्वजनिक महत्वका क्षेत्रमा सहकार्य गर्ने भएका छन् । नगरपालिका र विश्वविद्यालयबीच विभिन्न विषयमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन तथा सहकार्यका लागि सम्झौता भएको हो ।
मगलवार एक औपचारिक कार्यक्रमकाबीच वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रवकुमार गौतमले सार्वजनिक महत्वका सवालमा सहकार्य गरेर अघि बढ्न सम्झौता गरेका हुन् । दुवै निकायबीच सहयोग र सहकार्यका लागि सम्झौता गरेका विषयमा सार्वजनिक सेवा सान्दर्भिक अनुसन्धान, प्रचार–प्रसार र प्रकाशन, वैकल्पिक ऊर्जा र वातावरणीय सुधारका कार्यक्रमहरू छन् ।
विश्वविद्यालयसँगको सहकार्यमा जनचेतना, तालिम, गोष्ठीलगायतका क्षमता विकासका कार्यक्रम र स्थानीय वस्तु तथा सेवा एवम् उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार भौतिक पूर्वाधार विकास, स्रोत व्यवस्थापन, मानव स्रोत, सूचना, तथ्याङ्क, सामग्री, पुस्तकालय, प्राज्ञिक उन्नयन र बौद्धिक सम्पत्तिलगायतका स्रोतमा सहयोग आदान प्रदान र सहकार्य हुनेछ । नगर प्रमुख ढकालले कार्यगत क्षेत्रका सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, सामाजिक कार्य र सुशासनसम्बन्धी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विश्वविद्यालयसँग सहकार्य गरिएको जनाइन् । दुवै निकायबीच भएको सहमति चार वर्षको रहेको र थप नवीकरण गर्न सकिने बताइएको छ ।
यसैबीच, मध्यपश्चिम विश्वविद्यालयले मंगलवार विविध कार्यक्रम गरेर १५औँ वार्षिक उत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः June 18, 2025 at 8:22 am













कर्मसञ्चार । २०८२ असार ४ गते बुधवार