भिख मागे एक हजार जरिवाना !

२८ साउन ।
आउँदो भदौ १ गतेदेखि सडकमा बसेर वा घरघरमा डुलेर माग्न नपाइने भएको छ । । कसैले मागेमा उनीहरुले जरिवाना र कैद सजायसमेत ब्यहोर्नुपर्नेछ । मुलुकी अपराध (संहिता) ऐनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख गरिएको छ ।
ऐनको दफा १२६ मा भनिएको छ ‘कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनुहुँदैन ।’ सार्वजनिक स्थल भनेर सडक, गल्ली, पार्क, बसपार्क, सरकारी कार्यालय र सार्वजनिक सवारी साधन किटान गरिएको छ । यी स्थानहरुमा भिक्षा मागेमा पटकपिच्छे थप सजाय र मागेको रकम पनि जफत गर्ने कानुनमा व्यवस्था छ ।
पहिलोपटक भिक्षा मागेमा एक महिना कैद वा १ हजार जरिवाना लाग्छ । दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार जरिवाना गर्ने ऐनमा उल्लेख गरिएको छ । भिक्षा माग्नेलाई भन्दा माग्न लगाउनेलाई बढी सजायको व्यवस्था गरिएको छ । पहिलो पटक भिक्षा माग्न लगाएको भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना र दोस्रो पटकदेखि ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना लाग्नेछ ।
तर, साधु सन्तलाई भने भिक्षा माग्न छुट दिइएको छ । ऐनको दफा १२६ को स्पष्टीकरणमा लेखिएको छ ‘कुनै साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्पर अनुसार घरघरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा भिक्षा मागिएकोमा त्यस्तो कार्यलाई यसदफा अन्तर्गतको कसुर मानिने छैन ।’
बजार क्षेत्रका मुख्य सडकको छेउछाउ, मन्दिर लगायतका क्षेत्रमा माग्न बस्नेहरु धेरै छन् । अपांगता भएकाहरु, असाध्य रोगबाट पीडित, ज्येष्ठ नागरिक, जोगी र सन्यासीहरु माग्न बसेको दृश्य सामान्य बनिसकेको छ शहरी क्षेत्रमा । त्यसैगरी ढोका ढोकामा कराउँदै माग्न आउनेहरु पनि प्रशस्तै छन् । कसैले गीत गाउने, बाजा बजाउने गरेर मागिरहेका हुन्छन् भने कसैले अस्पताल वा स्थानीय तहले दिएका सिफारिस देखाएर पनि माग्ने गरेका छन् । कतिपय अवस्थामा बालबालिकालाई थाल वा कचौरा लिएर सडकमा माग्न लगाउने गरेको पनि भेटिन्छ ।
त्यतिमात्र होइन, लामो रुटको सार्वजनिक बसमा सारंगी रेटेर एक दुई टुक्का गीत गाएर माग्नेहरु पनि भेटिन्छन् । शहरमा जथाभावी माग्न बस्नु शोभनीय नभएकाले हटाउनुपर्ने आवाज पनि बेलाबेलामा उठ््ने गरेकै छ । माग्न बस्नेहरुले आफूहरु जीविकोपार्जनकै समस्या भएकाले माग्न बसेको बताउने गरेका छन् ।

प्रकाशित मितिः   August 13, 2018 at 8:49 pm 


  • प्रतिक्रिया दिनुहोस्