बाढी, पहिरो र डुबान अपडेटः ६७ जनाको मृत्यु,३२ बेपत्ता

सुर्खेत, ३० असार ।
अविरल वर्षाले देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षती गरेको छ । बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जनाको मृत्यु भएको हो ।

प्रहरीको पछिल्लो तथ्यांकअनुसार झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २र२ जना तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १र१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १/१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै, बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, इलाम र मोरङमा ३/३ जना, महोत्तरी र मकवानपुरमा २/२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १/१ जना गरी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

साथै धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३/३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २/२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी जम्मा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

प्रकाशित मितिः   July 15, 2019 at 6:08 pm 


  • प्रतिक्रिया दिनुहोस्