मेयर उपमेयरको प्रतिबद्धता कार्यान्वयन भएन

हाल वीरेन्द्रनगरको सहरी क्षेत्रमा दैनिक करिब पाँच टन फोहोर उत्पादन हुँदै आएको छ ।
सुर्खेत, ३ असार ।
एक वर्षअघि निर्वाचित भएलगत्तै वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वले नगरको फोहोर दिउँसो नउठाउने प्रतिबद्धता जनाएको थियो । दिउँसो बजारमा मानिसको चहलपहल बढ्ने, दुर्गन्ध फैलिने समस्याका कारण बिहानै वा रातिको समयमा संकलन गर्ने योजना भने अझै कार्यान्वयन हुन सकेको छैन । फोहोर संकलकको लापरबाही र नगरपालिका प्रशासनको प्रभावकारी अनुगमनको कमीका कारण प्रतिबद्धता कार्यान्वयन नभएको हो । तोकिएको समयमा फोहोर संकलन हुन नसक्दा मुख्यबजार, चोक आसपासमै बेला–बेला फोहोरको डंगुर लाग्ने गरेको छ ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा फोहोरमैला व्यवस्थापन गर्ने उपयुक्त स्थान नहुँदा नगरबासी आजित भएका छन् । वीरेन्द्रनगर–९ लाटीकोइली बौद्धटोलका बासिन्दाले डुङडुङ्ती गन्हाउने फोहोरको गन्धले आफूहरू आजित भएको बताएका छन् । ‘नगरपालिकासँग बारम्बार भन्दा पनि सुनुवाइ भएको छैन,’ स्थानीय लालबहादुर चौधरीले भने, ‘बिहान–साँझपख हावा चलेका बेला त गन्ध सिधै घरभित्रै आउँछ ।’ फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको ग्रिनसिटी कम्पोस्ट प्लान्ट एन्ड रिसर्च सेन्टरले वातावरणीय प्रभावको ख्यालै नगरी त्यहाँ जथाभावी प्लान्ट सञ्चालन गर्दै आएको छ । त्यसकै परिणाम स्थानीयलाई आफ्नै घरभित्र नाकमुख थुन्नुपर्ने बाध्यता छ । मुख्य बजार क्षेत्रको फोहोर नियमित संकलन नगरिनु, संकलित फोहोर निश्चित स्थानमा व्यवस्थापन नगरिनु र वातावरणीय प्रभाव अध्ययनै नगरी बस्ती बीचमा फोहोर प्लान्ट सञ्चालन गरिएको छ । केही अघिसम्म वीरेन्द्रनगरको नकुहिने फोहोर भांघारीस्थित भेरी नदीमा बगाइन्थ्यो । सरोकारवालाको चर्को दबाबपछि त्यो स्थान परिर्वतन गरियो । केही महिनायता वीरेन्द्रनगर–१ स्थित तारेभीरमा फोहोरमैला व्यवस्थापन गर्न थालिएको छ ।
नगरपालिका कार्यालय, ग्रिनसिटी कम्पोस्ट प्लान्ट एण्ड रिसर्च सेन्टर र नमोबुद्धले वीरेन्द्रनगरको फोहोरमैला व्यवस्थापन गर्दै आएका छन् । बढी फोहोर उत्पादन हुने मुख्य बजार क्षेत्र रहेको वडा नं ६ मा ग्रिनसिटीले संकलन गर्दै आएको छ । ग्रिनसिटीका व्यवस्थापक शशी केसीले वर्षात्का कारण बिहानै फोहोर संकलन गर्न नसकिने बताए । ‘मुसलधारे पानी परेका बेलाबाहेक अन्य दिन बिहानै फोहोर उठाएका छौं,’ उनले भने, ‘बरु उठाएको फोहोर डम्पिङ साइट नहुँदा कहाँ पु¥याएर फाल्ने, समस्या छ ।’
नगरपालिकाले तारेभीरमा अस्थायी ल्यान्डफिल साइट सञ्चालनमा ल्याए पनि सडक व्यवस्थित छैन । उनले कच्ची सडकका कारण पानी परेका बेला फोहोर पु¥याउन समस्या हुने बताए । ‘दुइटा गाडी पल्टिसके, बाटो ग्राभेल पनि गरिएको छैन, फोहोर बोकेको गाडी बाटोमै रोकिने अवस्था छ,’ ग्रिनसिटीका व्यवस्थापक केसीले भने, ‘नगरपालिकाले कम्तीमा सडक ग्राभेल गरिदिएको भए यस्तो समस्या हुन्थेन ।’ लाटीकोइलीस्थित कम्पोस्ट प्लान्टमा गन्ध नआउने गरी फोहोर व्यवस्थापन गरिएको उनले दावी गरे । ग्रिनसिटीले साउन १५ देखि कुहिने फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी गरेको छ । बस्ती आसपासमा दुर्गन्ध फैलिएको सन्दर्भमा उनले अचेल भने त्यस्तो समस्या नरहेको प्रस्ट पारे । नियमित फिनाइल छर्किने गरेको उनको भनाइ छ ।
वीरेन्द्रनगरले तारेभीर गठेरीमा वैज्ञानिक ल्यान्डफिल साइट निर्माणलाई नगरपालिकाले महत्वको योजनाका रूपमा अघि बढाएको छ । यसका लागि नगरपालिकाले ५० लाख बजेट विनियोजन गरिसकेको छ । नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले वातावरणीय प्रभाव मूल्यांकन गर्नुका साथै जग्गा भोगाधिकार प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । जग्गा भोगाधिकारसम्बन्धी फाइल वन मन्त्रालयमा पुगेको छ । ‘भोगाधिकार प्रक्रिया नटुंगिएकाले ल्यान्डफिल साइट निर्माण गर्न ढिलाइ भएको हो,’ उनले भने, ‘बहुवर्षीय योजनाका रुपमा वैज्ञानिक ल्यान्डफिल साइटलाई नगरले महत्वका योजनाका रूप सञ्चालन गर्छ ।’ ४ दशमलव ४४ हेक्टर क्षेत्रफलमा निर्माण गरिने ल्यान्डफिलमा सडक पहुँच विस्तार भइसकेको छ । यद्यपि, ग्राभेल नहुँदा फोहोर बोकेका गाडीहरू त्यहाँ पुग्न समस्या छ । वरिष्ठ अधिकृत पौडेलले वैज्ञानिक ल्यान्डफिल साइट निर्माण र फोहोर वर्गीकरण कार्यलाई महत्वका साथ अघि बढाएको बताए । हाल वीरेन्द्रनगरको सहरी क्षेत्रमा दैनिक करिब पाँच टन फोहोर उत्पादन हुँदै आएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यहाँ ५७ प्रतिशत कुहिने र ४३ प्रतिशत नकुहिने फोहोर उत्पादन हुने गरेको तथ्यांक संकलन गरेको छ । केन्द्रले भने प्रतिदिन ३१ दशमलव ३० टन उत्पादन हुने र त्यस फोहोरबाट ऊर्जा निकाल्न सकिने गरी अध्ययन गरेको हो । अब वडाले आफैं रकम विनियोजन गरेर फोहोर व्यवस्थापन गर्नेछन् । वडाले फोहोरमैला संकलनबापत उठाएको कुल राजस्वको १० प्रतिशत बजेट नगरपालिकाले उपलब्ध गराउने नीति लिएको छ ।

प्रकाशित मितिः   August 13, 2018 at 6:47 pm 


  • प्रतिक्रिया दिनुहोस्