
सुर्खेत, ९ पुस ।
सरकारले सुर्खेतका एनालग टेलिभिजन सेवा बन्द गरेको छ । यहाँ सिद्धार्थ र डिजिट केवल नेटवर्कले प्रशारण गरिरहेको सबै च्यानलहरु शनिबारदेखि बन्द भएका हुन् । यी केवलप्रदायकहरु डिजिटल प्रविधिमा नगएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रविधि बन्द गरेको हो ।
सूचना तथा सञ्चार मन्त्रालय योजना शाखाका शाखा अधिकृत गौरीप्रसाद आचार्यले सरकारको नीतिअनुसार नै सुर्खेतमा रहेका एनालग प्रविधिका दुई केबलका च्यानल बन्द गरेको जानकारी दिए । ‘हामीले पहिला नै पत्र पठाएर जानकारी गराइसकेका थियौं’ आचार्यले भने, ‘लामो समयसम्म सुर्खेतका केवल प्रदायकलाई डिजिटल प्रविधिमा जान भनिएको थियो, उहाँहरु अझै पनि डिजिटल प्रविधिमा नगएको देखिएपछि एनालग प्रविधि बन्द गरिएका हो ।’ एनालग प्रविधि बन्द गरिएकाले नियमको उल्घंन गरे कानूनी कारवाही थाल्ने उनले चेतावनी दिए । अब केवलप्रदायकले सेटअप बक्समार्फत सेवा दिनुपर्ने उनले बताए ।
सञ्चार मन्त्रालयले डिजिटलको लाइसेन्स लिएर एनालग सेवा दिने र एनालगमा लाइसेन्स लिएर प्रविधि स्तरोन्नती नगर्ने सेवा प्रदायकलाई अनुगमन गरी सेवा बन्द गराइरहेको छ । ‘निर्धारित समयसीमा कटेका ठाउँमा अनुगमन टोलीले सेवा बन्द गराएको हो,’ उनले भने, ‘अब अनुगमन टोलीले सेवा बन्द गराउँदा किन बन्द गरियो भन्ने प्रश्न सेवा प्रदायकले गर्न पाउने छैनन् ।’
यता, सिद्धार्थ केबल नेटवर्कका प्रवन्ध निर्देशक ललित गाहाले आफूहरु डिजिटल प्रविधिमा गइसकेको भन्दै सेटअप बक्स बाड्ने काम शुरु गरिएको जानकारी दिए । ‘पहिला नै मन्त्रालयले पत्र पठाएको हो,’ प्राविधिक काम भएकाले तयारी गर्न समय लाग्यो,’ गाहाले भने, ‘अब आफ्ना ग्राहकहरुलाई सेटअप बक्स वितरण शुरु गर्न थालेका छौं ।’
नयाँ प्रविधि भएकाले ग्राहकहरुलाई सिकाउँदै सेटअप बक्स जोड्नुपर्ने बाध्यता रहेको उनले बताए । डिजिट केवल नेटवर्कले पनि सेटअप बक्स वितरण शुरु गरेको सञ्चालक दिलिप सिंह ठकुरीले जानकारी दिए । ‘हालसम्म हामीले एक हजार पाँचसय सेटअप बक्स बाडिसकेका छौं,’ ठकुरीले भने, ‘केही प्राविधिक समस्याले ढिलाई भएपनि अब सेटअप बक्स वितरणलाई तिव्रता दिन्छौं ।’
के हो एनालग ?
इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले सन् २०१७ को डिसेम्बरबाट एनालग प्रविधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटल केवल टेलिभिजन सञ्चालनमा गुर्नपर्ने बाध्यता आएको हो ।
नेपाल पनि आईटीयूको सदस्य राष्ट्र हो । मन्त्रालयले गत वैशाख १५ गतेबाट नै एनालग टेलिभिजन बन्द गर्ने सूचना निकालेर पनि पछि हटेको थियो ।
सरकारले ०७१ मंसिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केवल नेटवर्कहरूलाई इजाजत दिने कार्य भने बन्द गरिसकेको छ । ‘एनालग भन्दा डिजिटलमा पिक्चर सफा वा क्वालिटी आउँछ । डिजिटलाइजेसन नहुँदा आधिकारिक तथ्यांक आउन गाह्रो भएको छ भने सरकारले पाउनुपर्ने राजश्व पनि पाएको छैन ।
एनालगबाट डिजिटलमा जाँदा ग्राहकका लागि आवश्यक पर्ने सेटअप बक्स, एन्टेनालगायत आवश्यक सामग्री ३ हजारदेखि ४ हजार ५ सयसम्म पर्छ ।
एनालग टेलिभिजन बन्द भएपछि ग्राहकले आफ्नो घरमा अनिवार्य रुपमा सेटअप बक्स राख्नैपर्छ । सेवामा गुणस्तरीयता हुने भएपनि सेटअप बक्सका कारण ग्राहकलाई आर्थिक भार भने पर्नेछ ।
एनालग टेलिभिजन पुरानो प्रविधि हो । यसमा अडियो र भिडियोलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सीमार्फत सिग्नल पठाइन्छ । यो एकतर्फी हुन्छ भने तस्बिर र साउन्डको गुणस्तर कम हुन्छ । एनालग केबलमा एउटै केबलबाट धेरैजनाले टिभि हेर्न सकिने हुँदा गुणस्तर कम हुन्छ ।
यो प्रविधि गुणस्तरहीन भएकाले सन् १९५० को दशकदेखि नै विकसित देशहरूले हटाइसकेका छन् । छिमेकी देश चीन र भारतले समेत एनालग प्रविधि हटाइसकेका छन् ।
नेपालमा अहिले डिस मिडिया नेटवर्कको डिसहोम, सुविसु केवल नेटवर्कको क्लियर टिभी, सिम्पल मिडिया नेटवर्कको सिमटिभीलगायतले डिजिटल टेलिभिजन सेवा प्रदान गरिरहेका छन् ।
प्रकाशित मितिः December 24, 2018 at 12:46 pm


कर्मसञ्चार । २०७५ पुष ९ गते सोमवार