प्रदेशगत प्रोफाइलमा कर्णाली कमजोर

सुर्खेत, २९ जेठ ।
नेपाल राष्ट्र बैंकले ‘जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय स्थिति’का आधारमा तयार पारेको प्रदेशगत प्रोफाइलमा कर्णाली प्रदेश सबै क्षेत्रमा कमजोर देखिएको छ । कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशको हिस्सा अन्य प्रदेशभन्दा न्यून देखिएको हो ।
प्रतिवेदन अनुसार कर्णाली प्रदेशको आर्थिक हैसियत पनि सबैभन्दा कमजोर छ । समग्र सेवा क्षेत्रको उत्पादनमा कर्णाली प्रदेशको अंश ३ प्रतिशत मात्र छ । प्रदेश ३ को आर्थिक हैसियत अरु प्रदेशको भन्दा सबल देखिएको छ । तर, क्षेत्रगत उत्पादनमा अरु प्रदेशको पनि आफ्नो अनुकुलता छ । प्रतिवेदनअनुसार अनुसार कुल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा प्रदेशगत योगदानको अन्तर ठूलो देखिएको छ ।
आर्थिक हिसाबमा सबैभन्दा बलियो र कमजोर प्रदेशबीचको जीडीपी अन्तर गुणासम्म देखिएको छ । जीडीपीमा प्रदेशगत अंश ३१.९ प्रतिशतदेखि ४.१ प्रतिशतको बीचमा छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा प्रदेश ३ ले ३१.९ प्रतिशत हिस्सा ओगट्छ । जीडीपीमा दोस्रो ठूलो योगदान गर्नेमा प्रदेश १ छ । उसले १७.५ प्रतिशत योगदान दिएको छ ।
तेस्रोमा प्रदेश २ छ । यो प्रदेशले जीडीपीमा १६.२ प्रतिशत हिस्सा योगदान गर्छ । प्रदेश ५ ले १३.४ र प्रदेश ४ ले १०.५ प्रतिशत योगदान दिइरहेको तथ्यांकमा उल्लेख छ । प्रदेश ७ छैठौं स्थानमा छ । उसले ६.३ प्रतिशतको योगदान दिँँदा पुछारमा परेको कर्णाली प्रदेशले जीडीपीमा सबैभन्दा कम अर्थात् ४.१ प्रतिशत हिस्सा ओगटेको छ ।
प्रदेशहरुको प्रतिव्यक्ति आयमा पनि तीन गुणासम्म अन्तर छ । समग्रमा नेपालको प्रतिव्यिक्ति आय १००४ डलर पुगेको छ । तर, प्रदेश ३ का जनताको प्रतिव्यक्ति आय वार्षिक १ हजार ५ सय ३४ डलर छ । सबैभन्दा कम प्रतिव्यक्ति आय प्रदेश ७ मा छ । त्यहाँका मानिसको प्रतिव्यक्ति आय ६ सय ६० डलर मात्रै आम्दानी गर्छन् ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार प्रदेश १ को प्रतिव्यक्ति आय १ हजार २४ डलर छ भने प्रदेश ४ को १ हजार २१ डलर । चौथो स्थानमा रहेको प्रदेश ५ को प्रतिव्यक्ति आय वार्षिक ८ सय ६८ डलर छ । प्रदेश २ को ७ सय ९९ डलर र कर्णालीको ६६७ डलर रहेको छ । प्रतिवेदनले कृषि, उद्योग र सेवा क्षेत्रहरुमा समेत प्रदेशगत योगदानको अन्तर व्यापक रहेको देखाउँछ । कृषि क्षेत्रमा प्रदेश १ सबैभन्दा बलियो छ । समग्र कृषि क्षेत्रमा उक्त प्रदेशको अंश २१.५ प्रतिशत छ भने कर्णाली प्रदेशको अंश सबैभन्दा न्यून ६.० प्रतिशत छ ।
उद्योग क्षेत्रमा प्रदेश ३ सबैभन्दा माथि छ । उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा उक्त प्रदेशको अंश ३१ प्रतिशत छ । उद्योग क्षेत्रमा कर्णाली प्रदेश र प्रदेश ७ अत्यन्त कमजोर देखिएका छन् । उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा प्रदेश ७ को अंश ३.९ प्रतिशत र कर्णाली प्रदेशको ३.३ प्रतिशत छ । सेवा क्षेत्रमा पनि प्रदेशगत अंशको अन्तर अझ ठूलो छ । आर्थिक रुपले सक्रिय जनसंख्या भने प्रदेश २ मा सबैभन्दा धेरै रहेको छ । मानव विकास प्रतिवेदन २०१४ का अनुसार नेपालमा ३९.९ प्रतिशत जनसंख्या आर्थिक रुपमा सक्रिय छन् । प्रदेश २ मा त्यस्तो संख्या न्यूनतम ३१ प्रतिशत रहेको देखिएको छ ।
विदेश जानेको संख्या भने प्रदेश १ मा सबैभन्दा बढी छ । सन् २००८ देखि २०१५ सम्म प्रदेश १ बाट ६ लाख १४ हजार, प्रदेश २ बाट ६ लाख ८ हजार, प्रदेश ३ बाट ४ लाख २० हजार र प्रदेश ४ बाट ३ लाख ५९ हजार जना विदेश गएका छन् । त्यस्तै प्रदेश ५ बाट ३ लाख ५२ हजार, कर्णालीबाट १ लाख १ हजार र प्रदेश ७ बाट ८६ हजार जना विदेश गएका छन् ।

प्रकाशित मितिः   August 13, 2018 at 6:59 pm 


  • प्रतिक्रिया दिनुहोस्