सुर्खेतमा जिउँदो खसी र मासुको मूल्यअन्तर चार सय !

वीरेन्द्रनगर, १० भदौ ।
सुर्खेतका मासु विक्रेताहरुले किसानबाट ३ सय ५० रुपैयाँमा जिउँदो खसी खरिद गर्छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा समेत जिउँदो खसीको मूल्य ३ सय ८० रुपैयाँभन्दा बढी छैन ।

तर, मासु किन्न पसलमा जानेहरु भने प्रतिकिलो ७ सय ५० रुपैयाँसम्म तिरिरहेका छन् । अहिले सुर्खेतमा जिउँदो खसी र मासुको मूल्यअन्तर झन्डै ४ सय रुपैयाँसम्म छ । यहाँका मासु विक्रेताले खसीको मासु बेच्दा कति मुनाफा राख्छन् भन्ने यही तथ्यले देखाउँछ ।

व्यवसायीले सरोकारवाला निकायसँग छलफल नै नगरी मासुको मूल्य एक्कासी बढाउँदा नियमक निकायले मासुको अव्यवस्थित कारोबारलाई रोक्न कुनै चासो नदिएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माले आरोप लगाए । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि व्यहोरिरहेका उपभोक्तालाई मासुको मूल्य बृद्धिले थप मर्का पर्ने उनले बताए ।

उपभोक्ताकर्मीहरुले मासु विक्रेताले अस्वभाविक मूल्य लिइरहदा पनि नियमन निकाय मौन बस्ने गरेको आरोप लगाउँदै आएका छन् । ब्यापारीले आफूखुसी मूल्यमा मासु बेच्दा उपभोक्ता ठगिइरहेको उनीहरु बताउँछन् । खसी भनेर बाख्रा तथा मरेका र अस्वस्थ खसीको मासु बेच्नेलगायत समस्या पनि उत्तिकै रहेको अधिकारकर्मीहरुको भनाई छ ।

आफूखुशी मूल्य बढाए विक्रेताले

मासु विक्रेताले आफूखुशी मासुको मूल्य बढाएका छन् । ६ सय रुपैयाँ प्रति किलो खसीको मासु विक्री हुँदै आएको सुर्खेतमा भदौ १ गतेदेखि मूल्य बढाएर ७ सयदेखि साढे ७ सय रुपैयाँ पु¥याइएको हो ।
काठमाडौं बुटवल, भैरहवा, पोखराजस्ता ठूला शहरमा खसीबोका निर्वाधरुपमा बाहिरीन थालेपछि मासुको मूल्य बढाउनु परेको सुर्खेत मासु व्यवसाय संघका अध्यक्ष जनकबहादुर थापाले बताए । ‘सिधै किसानबाट बढी मूल्य दिएर बाहिरी जिल्लाका व्यापारीले खसीबोका खरिद गरेपछि मूल्य बढाउनु परेको छ,’ अध्यक्ष थापाले भने, ‘तीन महिना अघि प्रतिकिलो ३ सय ५० रुपैयाँमा खरिदविक्री भएको जिउँदो खसी अहिले बढेर ३ सय ८० प्रतिकिलो खरिद गर्नुपर्दा मूल्य बढाउन बाध्य भएका हौं ।’

वीरेन्द्रनगरमा खसीबोकाको मासुको मूल्य बृद्धि भएपछि जिल्लाभरी नै मासुको मूल्य बढेको छ । किसानहरुले भने खसीको मूल्य बढाएका छैनन् ।

मूल्य समायोजनका लागि खसीबोकाको मासु प्रतिकिलो ७ सयदेखि ७ सय ५० रुपैयाँमा विक्री वितरण भईरहेको उनले बताए । थापाका अनुसार खसी मासु व्यवसायीहरुको साउन २२ गतेकोे भेलाले मूल्य बृद्धि गर्ने निर्णय गरेको थियो । जिल्लाका सबै सरोकारवाला तथा उपभोक्तालाई पूर्व जानकारी गराएर मासुको मूल्य बृद्धि गरिएको उनको दाबी छ ।
वीरेन्द्रनगरमा खसीबोकाको मासुको मूल्य बृद्धि भएपछि जिल्लाभरी नै मासुको मूल्य बढेको छ । किसानहरुले भने खसीको मूल्य बढाएका छैनन् ।

प्रकाशित मितिः   August 26, 2018 at 7:24 pm 


  • प्रतिक्रिया दिनुहोस्